काठमाण्डौ – बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि हिजो प्राप्त गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालमा रहेको कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’ सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो ।
सरकारले गएको मङ्सिर १ गतेदेखि लागू हुनेगरी चारवटा अस्पतालबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।
जसमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निःशुल्क पाउने मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिनुभयो ।
डब्ल्यूएचओका अनुसार नेपालमा हरेक वर्ष करिब नौ सय नयाँ बालबालिकामा क्यान्सर देखापर्ने गरेको छ । औषधि अभाव र विभिन्न चुनौतीका कारण एक तिहाइ बालबालिकाले मात्र उचित उपचार पाउने गरेका छन् ।