काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको छ । विश्वविद्यालयले निकालेपछि नेपाल विद्यार्थी कहाँ जाने भन्ने अन्योलमा परेका छन् ।
भारतीय मिडिया एएनआईसँग कुराकानी गर्दै नेपाल विद्यार्थी अनिलप्रसाद यादवले भनेका छन्, “हामीलाई आज होस्टेलबाट धकेलेर निकालियो । हिजो नेपालकी एक छात्रा मृत फेला परेकी थिइन् । यसबारे थप जानकारी लिन हामी अन्तर्राष्ट्रिय कार्यालय गयौँ, तर केही पनि भनिएन । हामी त्यहाँ रातभर धर्नामा बस्यौँ । त्यहाँबाट हामीलाई होस्टेल फिर्ता पठाइयो ।
अन्ततः हामीलाई एक घण्टाभित्र सामान प्याक गरेर जान भनियो । हामीसँग केही छैन । हामीलाई थाहा छैन, हामी कसरी जाने । हामीले खाना पनि खाएका छैनौँ ।”
केआईआईटीको होस्टेलमा आइतबार साँझ एकजना नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । विश्वविद्यालयको लापरबााहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको थियो ।
“हामी मृतक छात्राका लागि विरोध गरिरहेका थियौँ । हामीलाई थाहा छैन उनीहरूको नियत के हो, तर हामीलाई जबर्जस्ती होस्टेल खाली गर्न लगाइएको थियो । रेलको कुनै निश्चित तालिका छैन, मसँग पैसा छैन । हामीले खाना पनि खाएका छैनौँ । हामी असहाय छौँ...हामीलाई सूचना प्राप्त भयो कि नेपालका सबै विद्यार्थीहरूलाई निलम्बन गरिएको छ र उनीहरूले चाँडोभन्दा चाँडो होस्टेल खाली गर्नुपर्छ ।
कर्मचारीहरू होस्टेलमा प्रवेश गरे, हामीलाई खाली गर्न लगाए र छिटो नछोड्नेहरूलाई पनि कुटे,” नेपालका राजन गुप्ताले एनएनआईसँग भनेका छन् ।
आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् ।
मृतक बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।
सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।
सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ ।
घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरुले विश्वविद्यालयको प्रवेशद्वारबाहिर विरोध प्रदर्शन गरेका थिए । विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।
स्रोतका अनुसार मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि क्यापिटल अस्पताल लगिएको छ ।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञानरञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् । उनी होस्टेलमा बस्दै आएकी थिइन् र आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उनले उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छन् ।
“विश्वविद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त केटालाई प्रहरीले पक्राउ गरेको छ,” उनले भनिन् । (विभिन्न मिडियाको सहयोगमा)