त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न आचारसहिंता सार्वजनिक गरेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु चुनावलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
यस्तै आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा चुनावसम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानी–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न पाइँदैन ।
क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखेर परिचयात्मक कार्यक्रम निर्वाचन समितिले सञ्चालन गर्न सक्ने र त्यस कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ ।
आचारसंहितामा हरेक सङ्घ, सङ्गठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी घोषणापत्र र उम्मेदवारको नामावली भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने उल्लेख छ ।
चुनावका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा चुनावको विषयलाई लिएर बन्द, हडताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि चुनावी प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा एकैदिन मिश्रित निर्वाचन प्रणालीमार्फत स्ववियु चुनाव हुन लागेको हो ।