वीरगंज महानगरपालिका–३१ वडा कार्यालयले शुक्रवार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सोलखपुरमा कार्यक्रम आयोजना गरी २०८० सालको एसइईमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
वडाध्यक्ष जीतेन्द्र यादवले विद्यार्थी सनी साहलाई कम्प्युटर र ज्ञान्ती कुमारी, कुसुम कुमारी, अनामिका चौधरी, सरीता कुमारी र भुलन राउतलाई साइकल हस्तान्तरण गरेका थिए । उनीहरूले वडास्तरमा एसइईमा सबैभन्दा बढी अङ्क ल्याएका थिए । सो अवसरमा वडाध्यक्ष यादवले आफूले वडास्तरमा शिक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखेर काम गरेको बताए ।
उनले अन्य वडाभन्दा आफ्नो वडामा विद्यालय सङ्ख्या बढी रहेको तर सो अनुरूपको पढाइको स्तर वृद्धि हुन नसकेको बताए ।
उनले महानगरपालिकाको शिक्षा महाशाखाले शिक्षकहरूको सरुवामा लापरवाही गर्दै आएको परिणामस्वरूप आफ्नो वडामा शिक्षाको स्तर बढ्न नसकेको आरोप लगाए । उनले शिक्षकको सरुवा गर्ने तर जुन विद्यालयबाट सरुवा गरिएको हो पुनः त्यहीं पठाउने गरेकोले केही शिक्षकहरूको मनोबल उच्च र केहीको खस्केको कारण पढाइमा त्यसको असर परेको बताए ।
उनले वडामा भौतिक संरचनाको विकास भएर मात्र नपुग्ने भन्दै शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताए । शिक्षामा विकास भएपछि वडाको सहीरूपमा विकास भएको मान्न सकिने उनले बताए ।
पुरस्कार वितरणसँगै विद्यालयले तीनवटा वडाका विद्यालयलाई सहभागी गराएर अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । वडा नं ३१, ३२ र २९ वडाका विद्यालयहरू सहभागी भएको प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सोलखपुर प्रथम, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बस्डिलवा द्वितीय र लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालय कोनिया तृतीय भएका थिए ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सोलखपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य वीरेन्द्रराय थारू, अमिरूल हसन, प्रधानाध्यापक राजुकुमार माली, शिक्षक हरिन्द्रप्रसाद चौधरीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षक सुजन ढुङ्गेलले गरेका थिए ।