वीरगञ्ज । वीरगञ्जको अनमोल पार्टी प्यालेसमा स्टडी इन्टरनेशनलको आयोजनामा “आवाज - द भ्वाइस अफ टुमोरो” नामक सामाजिक सञ्जालको फाइदा र बेफाइदा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरूको विचार र बौद्धिक क्षमता परीक्षण गर्नको लागि आयोजित प्रतियोगितामा प्रथम सनलाइट स्कुलमा अध्ययनरत प्रतिभा काफ्ले भइन् । सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गरेकी उनलाई १० हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट सम्मानित गरिएको आयोजकले जनाएका छन् ।
त्यस्तै वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) मा अध्ययनरत मिश्ल मोहम्मदले दोस्रो स्थान हासिल गरे । उनलाई पाँच हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरियो ।
तेस्रो पुरस्कार ग्लोबल बिजनेस कलेजका सौरभ पटेलले हात पारे । उनलाई तिन हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट सम्मानित गरियो । यस्तै, दर्शकहरूको छनौटमा पनि परेकी प्रतिभा काफ्लेलाई थप १ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरियो ।
प्रतियोगिताको निर्णय गर्ने जिम्मेवारी स्टडी इन्टरनेशनल प्रमुख कार्यकारी अधिकृत र संस्थापक अमिन अनवर, रंगराजन चौरसिया र श्याम विकेश महतोले सम्हालेका थिए । उनीहरूको गहिरो मूल्याङ्कन र निष्पक्ष निर्णयको आधारमा विजेताहरूको घोषणा गरिएको थियो ।
सनलाइट इंगलिस सेकेण्डरी स्कुल र रुटिन अफ वीरगञ्ज बन्दको सह-आयोजनामा भएको प्रतियोगितामा वीरगञ्ज पब्लिक कलेज, बीआइटी कलेज, श्री नृसिंह मावि, सनलाइट स्कुल, हिमालयन पिरामिड स्कुल र ग्लोबल बिजनेस कलेज गरी वीरगञ्जका आठ प्रतिष्ठित विद्यालयहरूले सहभागिता जनाए ।
सहभागी विद्यार्थीहरूले आफ्नो वक्तृत्वकला मार्फत सामाजिक सञ्जालको फाइदा र बेफाइदाबारे गहिरो सोच र दृष्टिकोण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापनमा आयोजकहरूले विद्यार्थीहरूलाई आगामी दिनमा यस्तो प्रकारका कार्यक्रमहरूको निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।