ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “नो केबलकार पक्षद्धारा सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएका थिएँ । मैले आन्दोलनरत पक्षका असिम पालुङवालाई राँके जुलुस नगर्न र शान्तिपुर्ण र्याली गर्नको लागि आग्रह गरेको थिए । हुँदैन भन्नुभयो । पछि बिरेन्द्र चोकमा राँके जुलुस निकाल्नभयो । थप क्षति नहुन दिनको लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भयो । घाईतेको यकिन विवरण छैन । हामी स्थितीलाई नियन्त्रण लिने प्रयास गरि रहेका छौँ ।”
नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।
झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए । यसअघि बिहिबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाईते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाईते भएका थिए ।
पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदै आएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी
हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्नुभएको हो ।
आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।
आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।