पर्सा – स्ववियु निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी निकट विद्यार्थी जनमत संघ, ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले आज क्याम्पसको सभा हलमा विद्यार्थी भेला तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
इकाई अध्यक्ष अभिषेक झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष एवं प्रमुख अतिथि ओमप्रकाश सरार्फले ठाकुरराम बहुमुखी क्याम्पसको पुनर्जीवन, सर्वाङ्गीण विकास तथा विद्यार्थीहरूको हकहितका लागि जनमत विद्यार्थी संघको प्यानललाई जिताउनुपर्नेमा जोड दिए। साथै, शिक्षामा सुधार, पूर्वाधार विकास तथा थप संकाय विस्तारका लागि विद्यार्थी जनमत संघले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस अवसरमा पूर्व एसएसपी एवं जनमत पार्टीका केन्द्रीय सदस्य अनुराग द्विवेदीले विद्यार्थीहरू प्रति भइरहेका अत्याचार तथा विभेद अन्त्यका लागि आफूहरू निरन्तर लागिपरेको बताएका छन्।
भेलामा जनमत विद्यार्थी संघका जिल्ला अध्यक्ष विवेक झा, युवा जिल्ला अध्यक्ष उदय यादव, सभापति पदका उम्मेदवार राज साह, कोषाध्यक्ष पदका उम्मेदवार सलमान देवान, युवा नेताहरू धिरेन्द्र चौधरी, सिकेन्द्र राम, लोकेश कर्ण लगायतका विद्यार्थी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्ववियु निर्वाचनको तयारीलाई तीव्रता दिँदै विद्यार्थी जनमत संघले आगामी दिनमा पनि विद्यार्थीहरूका हकहितका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।