वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित रोयल एकेडेमीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विद्यालय परिसरमै निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पताल, आशाराम हस्पिटल र इम्प्याक्ट नेपालले सहकार्य गरेका थिए । विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दालाई लक्षित गरी आयोजित शिविरमा विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीका अनुसार शिविरमा आँखाको परीक्षण गरिएका बिरामीमध्ये ९ जनामा मोतिबिन्दुको लक्षण देखिएको छ । उनले ती बिरामीहरूको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिने जानकारी दिए । शिविरमा नेत्र अधिकृत चाँदनी जयसवाल, अस्पताल व्यवस्थापक पवन सिंह धामी, मेघन धामी, ईशा धामी लगायतको टोलीले सेवा प्रदान गरेका थियो ।
स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको थियो । आशाराम हस्पिटलका जेनरल फिजिसियन डा. बिरेन्द्र महतो, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. आरती शाह, हेल्थ असिस्टेन्ट आदेश कुमार यादव तथा इम्प्याक्ट नेपालकी ईएनटी सर्जन डा. सलेस्मा रिजालको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा महिलाहरूका लागि विशेष परामर्श सेवा पनि प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरमा आशाराम हस्पिटलका प्रबन्ध निर्देशक डा. अशोक दास, सञ्चालक निभा दास, ग्लोबल बिजनेस कलेजका प्रबन्ध निर्देशक श्रीराम दास, रोयल एकेडेमीका अध्यक्ष ओमप्रकाश श्रेष्ठ, प्रबन्ध निर्देशक सबनम श्रेष्ठ लगायतको उपस्थिति रहेको भाइस प्रिन्सीपल सुमन श्रेष्ठले जानकारी दिए ।
रोयल एकेडेमीकी प्रबन्ध निर्देशक सबनम श्रेष्ठका अनुसार शिक्षा मात्र नभई विद्यार्थी र स्थानीय बासिन्दाको स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेकोले विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजना गरेको हो । उनले भनिन्, “विद्यार्थी, अभिभावक र टोलबासीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्दा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । यसले विद्यार्थीहरूको अध्ययनमा समेत राम्रो प्रभाव पार्ने विश्वास लिएका छौं । भविष्यमा पनि यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनेछौं ।”
रोयल एकेडेमीकी प्रिन्सिपल बिजया ओझैयाका अनुसार विद्यालयले शिक्षासँगै स्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिएको छ । “विद्यालयमा अध्ययनरत विद्यार्थी मात्र नभई अभिभावक, शिक्षक तथा विद्यालय वरपरका स्थानीय बासिन्दालाई समेत लाभ पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको हो,” उनले भनिन् । शिविरमा सहभागीहरू सेवा प्राप्त गर्न पाउँदा खुशी देखिएका थिए । अभिभावकहरूले विद्यालयले यस्तो सामाजिक कार्य सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू भइरहने विश्वास व्यक्त गरेका छन् ।