वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित प्रसिद्ध शक्तिपीठ गहवा माई मन्दिरको नाममा रहेको ८ कठ्ठा खाली जग्गामा बाउन्ड्री वाल तथा गेट निर्माण कार्यको शिलान्यास गरिएको छ।
सोमबार संघीय सांसद बिना जयसवाल कुर्मीको प्रमुख आतिथ्यतामा आयोजित भूमिपूजन तथा शिलान्यास समारोहमा करिब १ करोड रुपैयाँको संसदीय विकास योजनाअन्तर्गत बाउन्ड्री वाल निर्माण, माटो भराइ तथा गेट निर्माण कार्य अघि बढाइएको छ। सांसद जयसवालले मन्दिरको संरक्षण तथा धार्मिक महत्व अभिवृद्धि गर्ने उद्देश्यले आफूले पहल लिएको बताइन्।
सांसद जयसवालका अनुसार वीरगञ्जवासीको आस्थाको केन्द्र रहेको गहवा माई मन्दिरको लागि संसदीय कोषबाट योगदान गर्ने योजना प्रारम्भदेखि नै रहेको थियो। मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन समितिको सिफारिसअनुसार उक्त बजेट विनियोजन गरिएको उनको भनाइ छ। साथै, उनले ठाकुरराम कलेजको पछाडी रहेको सो जग्गामासम्म पुग्ने बाटोमा धुलो तथा खाल्डाखुल्डी रहेकोले आगामी दिनमा व्यवस्थित सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहका अनुसारआगामी दिनमा सो जग्गामा सामुदायिक भवन निर्माण गर्ने तथा गहवा माई माताको प्रति स्वरुप प्रतिमा स्थापना गर्ने योजना रहेको बताए ।
शिलान्यास कार्यक्रममा रा.प्र.पा.का जिल्ला अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, नन्दु श्रीवास्तव, युवा नेता चन्दन मिश्रा , पानालाल पटेल, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू निवर्तमा अध्यक्ष दिना गुप्ता, उपाध्यक्ष सुरेन्द्र सर्राफ, बिजय उपाध्याय , पुर्व अध्यक्ष मदन गुप्ता ,समाजसेवी रमिता माया गुप्ता, रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेल, उद्योग वाणीज्य संघका पुर्व अध्यक्ष गोपाल केडिया, स्थानीय जनप्रतिनिधि, समाजसेवी, भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन प्रा. डा. प्रमोद कुमार सर्राफले गरेका थिए।