वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकममा कार्यरत सञ्चारकर्मी आशु कुमार सर्राफसँग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहमाथि कारबाहीको प्रक्रिया सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर कारबाही अघि बढाएको हो । घटनाले प्रेस स्वतन्त्रता र सशस्त्र प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ ।
सिंहले सर्राफसँग अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको टोलीले एसपी धितालसँग सम्पर्क गरी दोषीमाथि कडा कारबाहीको माग राखेका थिए ।
खनालले भने, “यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण हो । सञ्चारकर्मीमाथि यस्तो व्यवहार गर्ने जोसुकैलाई पनि कडा सजाय हुनुपर्छ ।” खनालसँगै अन्य सञ्चारकर्मीले पनि सर्राफमाथि भएको अभद्र व्यवहारको मुद्दालाई जोडदार रूपमा उठाएका छन् ।
घटना के हो ?
मङ्गलवार साँझ सञ्चारकर्मी सर्राफ वीरगञ्जको भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि नियमित सवारी चेकजाँचको दृश्य खिचिरहेका थिए । त्यही बेला ड्युटीमा खटिएका असई सिंहले उनलाई भिडियो खिच्नबाट रोक्न खोजे । सर्राफले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै भिडियो खिच्न जारी राखेपछि स्थिति तनावपूर्ण बन्यो ।
सिंहले सर्राफमाथि चरेस तस्करीको झुटो आरोप लगाउँदै अभद्र व्यवहार गरे । “तँ महिना खान्छस्” भन्दै उनले सञ्चारकर्मीको पेसागत इमानदारीमाथि नै आक्रमण गरे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारकर्मी र सर्वसाधारणबिच आक्रोश फैलियो ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धितालले घटनालाई गम्भीरतापूर्वक लिएको बताए । उनले असई सिंहलाई तत्काल हेडक्वार्टर तानिएको र उनको स्पष्टीकरण मागिएको जानकारी दिए । “स्पष्टीकरणपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ,” एसपी धितालले भने, “हाम्रो सङ्गठनमा यस्तो व्यवहार स्वीकार्य छैन ।”
असई सिंहको विवादास्पद इतिहास
सुजय कुमार सिंह पहिलेदेखि नै विवादको घेरामा रहँदै आएका छन् । यसअघि पर्साको लहावरथकरीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत रहँदा उनले दिनदहाडै घुस लिइरहेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनापछि उनलाई कारबाही गरिएको थियो, तर उनको व्यवहारमा सुधार आएन । यस्तै, केही दिनअघि मात्र भन्सार नजिकैको मदिरा भट्टीमा तस्कर पवनसँग बसेर ‘सेटिङ’ गरेको खबर पनि बाहिरिएको थियो । यस्ता घटनाले उनको कार्यशैली र नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।