वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४९ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । संघका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले नेपालमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउँदै सरकार उद्योग व्यवसायको प्रवद्र्धनमा प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले नीति तथा कानून सुधार गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले स्वागत मन्तव्य व्यक्त गर्दै संघले ८० वर्षअघि रोपेको बीउ आज फैलँदो वृक्षका रूपमा उभिएको बताए । उनले उद्योगी–व्यवसायीहरूको अधिकार तथा सुविधा सुनिश्चित गर्न संघ निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रको सशक्तीकरण आर्थिक समृद्धिको मूल आधार भएको बताउँदै औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न सरकारले दीर्घकालीन नीति निर्माण गर्नुपर्ने धारणा राखे।
साधारणसभामा प्रदेश सभा सदस्यहरू श्याम पटेल र बीना शर्मा, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, संविधानसभा सदस्य एवं संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. सुवोध गुप्ता, वरिष्ठ उद्योगी एवं वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्य, जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका दौरान प्रतिष्ठित पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) वीरगंजका संवाददाता हिमाल लम्साललाई सम्मान प्रदान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।
युवा उद्यमी पुरस्कार सुमित कुमार झुनझुनवालालाई प्रदान गरिएको छ । त्यस्तै आकृति अग्रवाल महिला उद्यमी पुरस्कारबाट पुरस्कृत भएकी छिन् । भारतबाट सर्वाधिक निर्यात गर्ने उद्योगहरूमा डावर नेपाल, जगदम्बा स्टिल, हुलास स्टिल, त्रिवेणी स्पिनिङ मिल, मरिम लेदरलाई सम्मान गरिएको संघका प्रमुख प्रशासकिय अधिकृत मनोज उपाध्यायले जानकारी दिए ।
सामाजिक एवम् मानवीय कार्यमा योगदान दिएबापत आशा किरण केन्द्रका संस्थापक सुनिल गुप्ता, उद्योगी व्यवसायीका समस्या उठान गरेको भन्दै राष्ट्रिय समाचार समिति वीरगञ्जका प्रमुख हिमाल लम्साल, पब्लिक फिटनेस सेन्टरका करण यादव लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव आशिष लाठले गरेका थिए ।