बीरगंज – सामाजिक सेवामा निरन्तर सक्रिय 4GR (फोर गुड रीजन) संस्थाले भोक मेटाउने आफ्नो अभियान अन्तर्गत छपकैया-२ मा विशेष इफ्तारी कार्यक्रम सम्पन्न गरेको छ। समुदायका दीन-दुःखी तथा रोजादारहरूलाई सम्मानजनक तरिकाले खाना उपलब्ध गराउने उद्देश्यसहित आयोजित यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
"घरको खाना, सबैको चाहना" भन्ने नाराका साथ 4GR को २७९ औं रसोई सेवा अन्तर्गत आइतबार इफ्तारी विशेष कार्यक्रम आयोजना गरियो। बिरगंज महानगरपालिका–छपकैया २ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको कार्यालयमा आयोजित कार्यक्रममा रोजादारहरूका लागि इफ्तारी खुवाइयो।
4GR संस्था विगत केही वर्षदेखि ५ रूपैयाँमै सम्मानजनक माहोलमा खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको छ। यस सामाजिक कार्यलाई अझ प्रभावकारी बनाउन संस्थाले विभिन्न व्यक्तिहरूको सहयोगलाई प्रोत्साहन गर्दै आइरहेको छ। संस्थाका अध्यक्ष नूतन सरावगी का अनुसार, "हाम्रो सानो सहयोगले कसैको भोक मेटिन सक्छ, असहायहरूको जीवन सहज हुन सक्छ। हामी सबैको सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं।"
यस सेवाको विशेष प्रायोजन डा. अनु पटवारी र 4GR टीम ले गरेका थिए। संस्थाले उनीहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।
कार्यक्रम सफल बनाउन विभिन्न समाजसेवी तथा स्थानीय व्यक्तिहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। यसमा फ्साना खान, देवकि चचान, पुस्पा गाडीया, प्रीति तुलसयान, सुलोचना अग्रवाल, स्नेहा पटवारि, नेन्सी अग्रवाल, ग्यासुदिन ठकुराइ, कृष्ण कुश्वाहा, ज्याहुल हक, प्रेम कुमारी सिंह, मदन गुप्ता, अब्दुल हक, बृज भूषण पाण्डे, शिव संकर पन्डित, सोलाजिम मिया, साहनवाज अन्सारी लगायतका सहयोगी हातहरूको उल्लेखनीय भूमिका रहेको थियो।
संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई सहयोगी हात बढाउन आग्रह गरेको छ। "हाम्रो सानो योगदानले भोकालाई परास्त गर्न सक्छ। कसैलाई दिएर कहिल्यै घट्दैन, बरु आशिर्वादले प्रगति गर्न अझ प्रेरित गर्छ," संस्थाले अपिल गरेको छ।