प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन श्रद्धा, भक्तिपूर्वक मनाइने रामभक्त हनुमानको जन्मजयन्ती यस वर्ष शनिबारका दिन देशभर विविध धार्मिक कार्यक्रम गरी मनाइँदै छ। विशेष गरी मन्दिरहरूमा पूजा–आराधना, हनुमान चालीसा पाठ, भजन, कीर्तन तथा महाआरती आयोजना गरिंदैछ।
भगवान् श्री हनुमानको जन्मोत्सवको पावन अवसरमा वीरगञ्जस्थित ऐतिहासिक महावीर मन्दिरमा शनिबार साँझ ६ बजे "भव्य महाआरती" को आयोजना हुने भएको छ। श्री महावीर मन्दिर समिति, श्री साप्ताहिक हनुमान चालीसा पाठ समिति, मारवाडी सेवा ट्रस्ट र श्री राणी सती ज्योति मण्डलको संयुक्त आयोजनामा हुने यस कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ६ संयोजकको रूपमा रहने छ। आयोजकहरूले सम्पूर्ण भक्तजनलाई मन्दिरमा उपस्थित भई पुण्य लाभ लिन हार्दिक निमन्त्रण गरेका छन्।
शास्त्रीय विश्वास अनुसार चैत्र शुक्ल पूर्णिमाका दिन भगवान हनुमानको पूजा–आराधना गरेमा बल, बुद्धि, विद्या प्राप्त हुनुका साथै दुःख, भय र सङ्कटबाट मुक्ति पाइने मान्यता छ। विशेष गरेर मङ्गलबार र शनिबार हनुमान आराधना शुभ मानिन्छ। यस वर्ष शनिबारकै दिन हनुमान जयन्ती परेको हुँदा यसको धार्मिक महत्व झनै विशेष मानिएको छ। शनिबार हनुमानको आराधनाले शनि दोष निवारण हुने धर्मशास्त्रविद्हरू बताउँछन्।
वीरगञ्जको महावीरस्थान मन्दिर, घडीअर्वाको रामजानकी मन्दिर, बारा कलैयाको हनुमान मन्दिर, हनुमानढोका स्थित हनुमानको मूर्ति, पशुपति क्षेत्र, गोकर्णेश्वरको पञ्चमुखी हनुमान मन्दिर लगायत देशभरका हनुमान मन्दिरमा पूजा–आराधनाको तयारी गरिंदैछ।
हनुमानको जन्मको बारेमा धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको छ कि उनकी आमा अञ्जना एक अप्सरा थिइन् जो श्रापका कारण पृथ्वीमा आई साधनामा लीन रहिन्। उनका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी थिए। अञ्जनाको तपस्याबाट प्रसन्न भएर भगवान शिवको आज्ञाबाट वायु देवताले आफ्नो शक्ति प्रयोग गरी गर्भ स्थापना गरिदिएपछि हनुमान जन्मिएका थिए। त्यसैले हनुमानलाई 'वायुपुत्र' वा 'पवनपुत्र' भनिन्छ।
‘हनुमान’ शब्द संस्कृत व्याकरण अनुसार ‘हनु’ (चिउँडो) र ‘मतुप’ प्रत्ययबाट बनेको हो। ‘हन्’ धातुको अर्थ गति वा हिंसा पनि हुने भएकाले हनुमानलाई गतिशील, बलवान, एवं आज्ञापालक शक्तिको प्रतीक मानिन्छ।
शास्त्रहरू अनुसार हनुमान ‘एकादश रुद्र’ मध्ये एक हुन् र उनको आराधना गर्दा सबै प्रकारका नकारात्मक शक्तिबाट रक्षा मिल्छ। विशेष गरी रौद्ररूपी हनुमानको ध्यान गर्दा रोग, व्याधि, राजकीय भय, पिचास शक्ति, बेताल, अग्नि, जलजस्ता प्राकृतिक आपदाबाट मुक्ति पाइने विश्वास छ।
हनुमानलाई अष्टसिद्धिधारी देवता पनि मानिन्छ – अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्रकाम्य, ईशित्व, वशित्व नामका आठ सिद्धिहरू उनले प्राप्त गरेका थिए। वैदिक मान्यताअनुसार भगवान रामको सेवामा रहेर भक्तियोग र कर्मयोगद्वारा हनुमानले दिव्य स्थान प्राप्त गरेका हुन्।
हनुमानको मूर्तिमा सिन्दुर अर्पण गर्ने परम्परा पनि विशेष अर्थपूर्ण मानिन्छ। सिन्दुर शरीरको संरचना र शक्ति वृद्धिमा भूमिका खेल्ने मानिन्छ। यस अवसरमा स्त्री–पुरुष, बालक–बृद्धहरूले पवित्र नदीमा स्नान गरी व्रत, उपवास र पूजा आराधना गर्दै ‘हनुमान चालीसा’को पाठ गरे विशेष फल पाइने धार्मीक मान्यता रहेको छ ।
हनुमान जयन्तीको अवसरमा हनुमानलाई संकटमोचक, मङ्गलमूर्तिका रूपमा पूजा गरिन्छ ।