इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्समाथि सानदार जित निकालेको छ ।
एम ए चिदम्बरम स्टेडियममा भएको खेलमा कोलकाता नाइट राइडर्सले घरेलु टिम चेन्नाई सुपर किंग्समाथि ८ विकेटको जित निकालेको हो ।
चेन्नाईले दिएको १०४ रनको झिनो लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । कोलकाताका लागि सुनिल नरिनले सर्वाधिक ४४ रनको जोडे । यस्तै, क्विन्टन डिककले २३ तथा कप्तान अजिङ्क्य रहाने २० र रिंकु सिंह १५ रनमा अविजित रहे ।
चेन्नाईका अन्सुल कम्बोज र नूर अहमदले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १०३ रनको झिनो योगफल तयार पारेको थियो । चेन्नाईका लागि शिवम् दुबे ३१ रनमा अविजित रहे । यस्तै, विजय शंकरले २९, राहुल त्रिपाठीले १६ र डेभन कनवेले १२ रनको योगदान दिए ।
कोलकाताका लागि सुनिल नरिनले ३, हर्षित राना र वरुण चक्रवर्तीले २-२ तथा वैभव अरोरा र मोइन अलीले समान १-१ विकेट लिए । जारी आईपीएलमा कोलकाताको यो तेस्रो जित हो । चेन्नाईले भने लगातार पाँचौँ हार ब्यहोरेको छ ।
जितसँगै ६ खेलबाट ६ अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट २ अंक जोडेको चेन्नई नवौँ स्थानमा छ ।