दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिडेकाे आराेपमा पक्राउ परेका बेहुलासहितका पाँचजना विरुद्ध प्रहरीले विवाह सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाएकाे छ।
गएराती २ बजे पक्राउ परेका ५ जना माथि नै कारवाही प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार साझ प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गएराती विवाहको मण्डपमा वैवाहिक कार्यक्रम चलिरहकै समयमा सुनको सिक्री नपाएको भन्दै विवाद गरि बिवाह छोडी जान लागेको मौखिक जानकारी पाएपछी वडा प्रहरी कार्यालय श्रीपुरले बेहुलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का २८ वर्षका उमेश साह गोढ , बेहुलाका बुवा बच्चालाल साह , दाजुहरु राकेश साह र मुकेश साह, भिनाजु बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बस्ने रामएकबाल साह सहित ४ जना रहेको प्रहरीले जनाएको छ ।
दाइँजोमा सुनको सिक्री नपाएपछि उमेश र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको विहे नै भाँडिएको हो । विहे चल्दै गर्दा बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि बेहुला पक्षका ४ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षिक धर्मजंग थिङले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय राखी जिल्ला अदालत पर्साबाट विवाह सम्बन्धी कसुरमा २ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् । भने रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।