सरकार र आरती साहको परिवारबीच सहमति भएको छ।
आरती साहको न्याय माग गर्दै उनका परिवार महिनौँदेखि काठमाडौँमा धर्ना दिँदै आएका थिए। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा मंगलबार राति गृह मन्त्रालयमै सहमति जुटेको हो।
दाइजोको निहुँमा आरती साहको हत्या भएको परिवारको दाबी छ। प्रहरी प्रशासन र अदालत दुवैले आफूहरूलाई न्याय नदिएको भन्दै उनीहरु काठमाडौँ आएका थिए। सहमति जुटेसँगै आरतीका परिवारले आन्दोलन फिर्ता लिएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक स्थित आफ्नै घरमा गत जेठ ७ गते आरती साह मृत अवस्थामा भेटिएकी थिइन्।
जनकपुरधाम स्थित काव्या अस्पतालमा पुर्याएपछि ससुराली परिवारले आरतीले आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो। त्यसपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो।
आरतीको मृत्यु हुनु भन्दा दुई वर्षअघि धनुषाका मोतीबाबु साहसँग उनको विवाह भएको थियो। माइती पक्षको दाबी अनुसार विवाहमा दाइजोसहित उनीहरुलाई २५ लाख रुपैयाँ दिइएको थियो। तर, मृत्यु हुनुअघि ससुराली पक्ष दाइजो कम भएको भन्दै आरतीलाई घरमा यातना दिइने गरेको माइती पक्षको आरोप थियो।
यो मुद्दामा प्रहरीले श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।
जिल्ला अदालतले उनीहरुलाई गत असार ५ मा पुर्पक्षका लागि थुनामा पठायो। तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा भन्दै दुवै जनालाई थुनामा राख्न आवश्यक नदेखिएको आदेश गरेको थियो। पछि सर्वोच्च अदालतले उच्चको आदेश उल्ट्याउँदै फेरि थुनामा पठाउने आदेश गरेको थियो।