प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले विश्वासको मत पाएसंगै मधेश प्रदेश सरकार पुनर्गठनको तयारी थालिएको छ । जसपाबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादव काठमाडौंबाट मधेश फर्केर सरकार पुनर्गठनको तयारी गरेका हुन् ।
उनले सरकारमा सहभागिताको विषयमा आज नेकपा एमालेसित छलफल गर्ने भएका छन् । नवनियुक्त प्रदेश प्रमुख आएसंगै सरकार पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री यादव छन् ।
‘एमालेसित छलफल गर्छु । नवनियुक्त प्रदेश प्रमुख आउनु भएको छैन । आएलगतै सरकार पुनर्गठन गर्छौ’ मुख्यमन्त्री यादवले भने ।
नेपाली काँग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ । जसको लागि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने मुख्यमन्त्री सचिवालयय स्रोतले जनाएको छ । स्रोतका अनुसार काँग्रेसलाई हटाएपनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मधेश सरकारमै यथावत राख्ने मुख्यमन्त्री यादवको रणनीति छ ।
१४ सदस्य मन्त्री मण्डलमा जसपाका मुख्यमन्त्री बाहेक तीन मन्त्री र एक राज्यमन्त्री छन् । काँग्रेसका तीन, माओवादी केन्द्रका एक मन्त्री र एक राज्य मन्त्री, लोसपा र नेकपा एकीकृत समाजवादीको एक–एक मन्त्रालय छ । ९ माघमा जनमतले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादव आफैसित राखेका छन् ।
अब एमालेलाई काँग्रेसको भागमा रहेको थप तीन र जनमतले छाडेको दुई मध्ये एक मन्त्रालय, माओवादी केन्द्रलाई थप एक दिएर मन्त्री परिषद पुनर्गठन हुने मुख्यमन्त्री सचिवालय श्रोतको दावी छ ।
केन्द्रिय गठबन्धन समिकरण अनुसार मधेश प्रदेश सरकारलाई कुनै संकट छैन । १०७ सदस्य मधेश प्रदेशसभामा सबभन्दा ठूलो दल रहेको एमाले सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ । सरकारको बहुमतका लागि ५४ आवश्यक पर्छ । तर गठबन्धन भित्रका दलहरुको सभामुखबाहेक ५८ पुग्छ ।
मधेशमा सत्ता गठबन्धन घटक ठूलो दल एमाले र गठबन्धन घटक माओवादी केन्द्रले आ आफ्नो नेतृत्व पाउनु पर्ने दावी समेत गरिरहेका छन् ।