हामीले विश्व मिर्गौला दिवस मनाउन थालेको सन् २००६ बाट हो। सन् २००८ देखि नेपालमा मिर्गौला प्रत्यारोपण सेव सुरु भएको थियो। सन् २०१० मा नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकको डायलाइसिस निःशुल्क गरिएको थियो। त्यसको एकवर्ष पछि हेपाटाइटिस बी, सी तथा एचआइभी संक्रमितको पनि मिर्गौला खराब भएपछि गरिने डायलाइसिस सेवा निःशुल्क गरिएको थियो।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा हामीले त्यतिबेला नै निःशुल्क गरेका थियौं। सरकारले सुरुमा मिर्गौलाका बिरामीको डायलाइसिस सेवा निःशुल्क बनायो। मिर्गौलाको प्रत्यारोपण पनि सरकारी अस्पतालमा निःशुल्क छ। निजी अस्पतालहरुले पनि मिर्गौला प्रत्यारोपण सेवा गर्न थालेका छन्।
मिर्गौलाको उपचारमा जति काम गरेपनि, विश्व मिर्गौला दिवस मनाए पनि सबैजसो कामहरु उपचार केन्द्रित भयो। मिर्गौलाको उपचारमा डायलाइसिस, मिर्गौला प्रत्यारोपण सेवा उपचारमा मात्र केन्द्रि भयो। प्रिभेन्सनको कुरा हरायो। बिरामीलाई उपचार गर्नेमा मात्र केन्द्रित भयो। त्यसैले विश्व मिर्गौला दिवसको पहिलो कुरा हामीले हाम्रो मिर्गौला स्वस्थ राख्नुपछै भन्ने हो।
मिर्गौला स्वस्थ राख्न नसकेसम्म केही काम छैन। प्रत्येक वर्ष मिर्गौलाको रोग बढ्दै गइरहेको छ। मिर्गौला रोगकै कारण मृत्यु हुनेको संख्या बढ्दै छ। यही क्रम जारी रह्यो भने मिर्गौलाको समस्याका कारण धेरै ठूलो समस्या निम्तिनेवाला छ। यसको समाधान भनेको हरेक व्यक्तिले आफ्नो मिर्गौला स्वस्थ राख्नु नै हो। हामीकहाँ आउने बिरामी भनेको मिर्गौला बिगारेर डायलाइसिस गर्नुपर्ने, प्रत्यारोपण गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। त्यतिबेला बिरामीलाई मिर्गौला जोगाउने उपदेश दिएर काम छैन। उसको मिर्गौला बिग्रिसकेको हुन्छ।
अहिले घरघरमा मधुमेह, उच्च रक्तचाप भएर जथाभावी रुपमा एन्टिबायोटिक, पेन किलर खाएर मिर्गौला बिगार्नेको संख्या पनि प्रशस्त छ। अस्पतालमा बस्ने चिकित्सकले उपचार मात्र गरेर यो रोग कम हुन सक्दैन। जबसम्म हरेक व्यक्तिले आफ्नो मिर्गौला स्वस्थ राख्न तयार हुँदैनन्।
मिर्गौला स्वस्थ राख्न गाह्रो कुरा छैन। सजिलै छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ, हिड्ने बानी बसाल्नुपर्छ, स्वस्थ खानेकुरा खानुपर्छ, खान नहुनेकुराहरु चुरोट, खैनी, जाँडरक्सी, जथाभावी पेनकिलर तथा औषधिहरु खान हुँदैन। र वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ।
मिर्गौला परीक्षण गर्न मान्छे आउँदैनन्। किनकी उनीहरुलाई मिर्गौलाको महत्व नै थाहा छैन। तर संचारमाध्यममा मिर्गौला परीक्षण गर्नुपर्छ भन्ने पढेर, सुनेर आउने केही मान्छे छन्। तर कम छन्।
मेरो मिर्गौला कस्तो छ? भनेर व्यक्तिले समय समयमा जाँच गराउन आवश्यक छ। नेपालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भयो तर त्यो बीमा पनि उपचारमै केन्द्रित भयो। बीमाले पनि स्वास्थ्य परीक्षणमा त्यति जोड दिएको छैन। मिर्गौला स्वस्थ राख्न धेरै व्यक्तिलाई सचेतना दिन आवश्यक छ।
सरकारले मिर्गौलाको प्रत्यारोपणमा ५ लाखसम्म सहुलियतको सुविधा दिएको छ।
यदी मिर्गौला प्रत्यारोपणको संख्या बढाउने हो भने सरकारी अस्पताललाई मात्र सुविधा दिएर हुँदैन। सरकारले निजी क्षेत्रलाई पनि सहुलियतको सुविधा दियो भने मिर्गौला प्रत्यारोपण गर्नेको संख्या बढ्ने छ। तर मुख्य कुरा मिर्गौला बिग्रन नै नदिने उपाय अपनाउन आवश्यक छ।