मधेस प्रदेशमा सामुदायिक सिकाइ केन्द्र (सिएलसी)को औचित्य पुष्टिमै समस्या रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अनौपचारिक तथा वैकल्पिक शाखाका निर्देशक नीलकण्ठ ढकालले बताएका छन् ।
प्रगति विवरण दिन नसक्ने अधिकांश सिएलसीले आफ्नो औचित्य पुष्टि गर्नुपर्ने निर्देशक ढकालले बताएका छन् । वीरगञ्जमा पर्सा, बारा, रौतहटका सिएलसीका सहजकर्ताहरू, पालिकाका शिक्षा प्रमुखहरू, तीनओटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू तथा समुन्नत नेपालका निर्देशक पवन अधिकारीसमेत गरी २६ जनाको सहभागिता रहेको दुई दिवसीय सिकाइ सामग्री तथा प्रवोधीकरण कार्यशालामा निर्देशक ढकालले नियमानुसार सिएलसी सञ्चालन हुनुपर्ने बताएका हुन् ।
मधेस प्रदेशको अधिकांश जिल्लाका सिएलसी सञ्चालन भइनरहेको आफूले सुनेकोले अनुगमनको क्रममा सञ्चालनमा नरहेको सिएलसी पाइएमा कारबाही हुने तथा सिएलसी अध्यक्ष र सहजकर्ताले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका छन् ।सिएलसीबारे आधारभूत जानकारी पनि नपाइने गरेको गुनासो सुनिएको बताउँदै निर्देशक ढकालले सिएलसीको कार्यालय सञ्चालन र कम्तीमा एउटा बोर्ड झुन्ड्याउनुपर्ने सुझाव दिएका छन् । मानिसहरू आवतजावत गर्दा पढ्न पाउनुपर्ने, सिएलसीबारे जानकारी लिनुपर्ने, समयमा खुल्ने र बन्द गर्नुपर्ने लगायतका व्यवस्थापन गर्न नसके सिएलसी नै बन्द गर्नुपर्ने निर्देशक ढकालको भनाइ छ ।
२०८५ वैशाख १ देखि आधारभूत शिक्षा हासिल नगरेको व्यक्ति राज्यको कुनै पनि सेवा, सुविधा र अवसर पाउन योग्य नमानिने भएको तथ्यलाई मनन गर्दै सिएलसीहरू समुदायप्रति गम्भीर हुनुपर्नेसमेत बताएका छन् । समुदायका हरेक नागरिकले आधारभूत सेवा पाउनुपर्ने वातावारण बनाउन सिएलसीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएका बताउँदै सहभागीहरूलाई गम्भीर हुन जोड दिएका छन् ।
केन्द्र सरकारले हरेक सिएलसीलाई २ लाख ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराइरहेकोले रकमको सदुपयोग गर्दै सिलएसीको औचित्य सावित गरेर सिएलसीमा भविष्य देख्न पनि सुझाव दिएका छन् । सिएलसी कहिल्यै खत्तम नहुने संरचना भएकोमा जोड दिँदै प्रभावकारी ढंगले काम कारबाही अगाडि बढाउन नसक्नेले आफूलाई सिएलसी नचाहिएको वा समुदायलाई आवश्यक नभएको भनी लेखेर दिन पनि चुनौती दिएका छन् ।
तीन तहको सरकार भएकोले मिलेर व्यवस्थापन गर्ने हो भने सर्लाहीको बलरामा रहेको काका सामुदायिक सिकाइ केन्द्रको जस्तो आफ्नो भवन हुनुका साथै सिएलसीको नाम पनि देशभर चम्किने उदाहरण दिएका छन् । निर्देशक ढकालले भने, ‘सिएलसी अब लाइफ लर्निङ हब बन्दै जान्छ, सिस्टमबाट हट्दैन ।’