इसनाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही नगरपालिका–५ स्थित आधारभूत विद्यालय लक्ष्मिनिया, जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा प्रमुख प्रशासकीय अधिकृत गुप्ता, तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका तत्कालीन प्रधानाध्यापक महमद समिम अख्तरले मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन इन्जिनियर सौरभले तयार गरेको कार्य सम्पादन प्रतिवेदनमा ब्रिक मेसनरी कार्य फिल्डमा ४७.८४ क्यूविक मिटर भएकोमा ५३.३७ क्यूविक मिटर उल्लेख गरी सम्झौताको दररेटभन्दा बढी कायम गरी जम्मा ८६ हजार ६४७ रुपैयाँ कायम गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
यसैगरी, अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार नौ सय रुपैयाँ कार्य बराबरको रकम खर्च भएको देखिए पनि प्रमुख प्रशासकीय अधिकृत गुप्ताले दुई लाख ३५ हजार ८९५ रुपैयाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको अख्तियारको ठहर छ ।
आयोगका प्रवक्ता घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार सात सय ९७ रुपैयाँ बढी खर्च लेखेका थिए ।
आयोगले इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६४७ रुपैयाँ बिगो जरिवानाको माग दावी लिएको छ ।
त्यस्तै अर्का प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम दुई लाख ३५ हजार ८९५ रुपैयाँ बिगो जरिवानाको माग दावी गरेको छ ।
साथै अख्तरको हकमा पनि सोही ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७९७ रुपैयाँ बराबरको बिगो जरिवानाको मागवादी अख्तियारले गरेको छ ।