पर्साको पटेर्वा सुगौली गाँउपालिकामा थारू समुदायका महिलाहरू अहिले आत्मनिर्भर बन्दै गएका छन ।
पालिकामा रहेका थारु समुदायका महिलाहरुलाई शसक्त र आत्मनिर्भर बनाउने उद्धेश्यले पटेर्वा सुगौली गाँउपालिकाले आयोजना गरेको महिलाहरूले बुन्ने पारम्परिक ढकिया, पथिया तालिमको समापन भएको छ ।
पालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले शुरू गरेको १५ दिने तालिममा प्रशिक्षितहरु लाई प्रमाणपत्र बितरण गरि कार्यक्रमको समापन गरेको हो ।
कार्यक्रममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । थारू समुदायका महिलाहरुले उत्पादन गरेका ढकिया, पथिया,हट्केस, टीम्याट, डस्टबिन लगायतका सामाग्री तयार गरी प्रदर्शन गरेका थिए ।
तालिममा सहभागी लक्ष्मी चौधरी आफ्नो अनुभव सुनाउदै भन्छिन , सुरुमा बुन्दा धेरै गाह्रो भयो , कति चाडै सकोस र घर जाऊ हुन्थ्यो तर सिक्दै जादा अझै कसरी राम्रो बुन्न सकिन्छ भन्ने लाग्न थाल्यो । हामीले पहिले बून्ने ढकिया, पथिया भन्दा अहिले तालिममा सहभागी भएपछि झनै सजिलो र आकर्षक लागेको उनले आफनो अनुभव सुनाइन । पहिले बुनेका ढकिया पथिया भन्दा तालिममा सहभागी भएर बुनेका ढकिया पथिया धेरै बिक्री भएको पनि उनले बताइन ।
पटेर्वासुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष दिनेश चौधरी रहेका थिए ।