जनकपुर । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको सङ्ख्या बढाउने बताएका छन् ।
शनिबार जनकपुर(जयनगर रेल्वे अनुगमन एवम् निरीक्षणका क्रममा उहाँले यस्तो बताएका हुन् ।
मन्त्री महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरूलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताए ।
उनले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै अब छिटो र छरितो रूपमा सेवा अघि बढाउने प्रतिबद्धता जनाए ।
‘‘अहिले नेपाल सरकारले सेवाको भावनाबाट यो सञ्चालन गरेको हो । अब केही दिनपछि हामी अगाडि बढाउँछौँ । सधैँ घाटा लगाएर चलाउन गाह्रो हुन्छ । त्यसमा नेपाल सरकार खासगरी भौतिक पूर्वाधार पूर्वाधार मन्त्रालयले, रेल्वे विभागले त्यसबारेमा सबैको राय लिएर के गर्दा राम्रो हुन्छ, त्यो बाटो हामीले अपनाउनेछौँ ।,’’ उनले भने , ‘‘ यात्रीको चाप बढी भयो भन्ने छ, त्यो धेरै ठुलो समस्या होइन । यो रेलको समय थपेर धेरै पटक आवतजावत हेरेर बढाउनेछौँ । रेल पनि थप्नेछौँ, यदि यात्रुको चाप बढी भयो भने । यात्रुको चाप हेरेर केके सुविधा दिनुपर्छ, त्यो हामी गर्नेछौँ । सकभर यही आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध हुनेछ । मालवाहकको लागि प्रक्रिया अघि बढाइसकेको छ ।’’
मन्त्री महासेठले रेलसेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरूको सम्बोधन गर्ने बताए । उनले चालु आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध गर्ने बताए ।
मन्त्री महासेठले भने , ‘‘भारत सरकारले, खासगरी भारत सरकारको माध्यमबाट निर्माण लिएका कम्पनीहरूसँग पनि कुरा गरेका छौँ । अरू सबै ठिक छन्, केही समस्या छन्, केही अतिक्रमण भएका छन् । त्यो अतिक्रमण हटाउनलाई हाम्रो नेपाल सरकारसँग करा गर्छौं, नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नेछ । स्थानीय तहमा जयनगरतिरका कुरामा त सरकारसरकारबिच कुराकानी हुन्छ, रेल्वे विभागका जिएम लगायतको यसलाई हटाउन, पहल गर्नुपर्नेछ । त्यसमा मैले निर्देशन दिइसकेको छु । हाम्रा आन्तरिक कमी कमजोरी छन् भने त्यसलाई छलफलबाट समाधान गर्नेछौँ । आम्दानी कम भयो, खर्च बढी भयो, त्यो स्वाभाविक छ ।’’
मन्त्री महासेठले शनिबार जनकपुरदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवम् निरीक्षण गरेका थिए ।