सर्लाहीका किसान उन्नत जातको मकैमा दाना नलागेपछि चिन्तित बनेका छन् । जिल्लाको परवानीपुर, बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना लागेको छैन ।
सरकारले स्वीकृती दिएको नेपालमा सूचिकृत भएका मकैमा समेत दाना नलागेपछि किसानहरु मर्कामा परेका हुन । मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे । प्रति किलो ६५० रुपैयाँमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती–४ का किसान राम विश्वास महतोले बताए । ‘धेरै फल्ने आसमा महँगो मूल्यमा बीउ किनेर रोपियो’, उनले भने, ‘अहिले सबै लगानी डुब्यो ।’
परवानीपुर, बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ । यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे । उनले गत मसिंरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएका थिए । उनले खेतमा लगाएको मकैमा घोगा ठूलो लागे पनि दाना लागेको छैन । महँगो बीउसँगै विशेष किसिमले मल खाद हालेर लगानी गरेको मकै नफलेपछि किसान चिन्तित भएका छन् । ब्यापारिले किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि ललिता साहको आरोप छ । मकैमा दाना नलागे पछि आफूहरू सकंटमा परेको उनले गुनासो गरिन ।
उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा पैँतिस सयसम्म खनजोत, मल खाद र कामदार खर्च लाग्ने गर्छ । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ । उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मसिंरको पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले बताए ।
बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनको दाबी छ । मसिंर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनको दाबी छ । दाना नलागेका किसानको विवरण सकंलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको उनले बताए । किसानलाई कसरी राहत पु¥याउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उनको भनाई छ ।
नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण सकंलन गरिरहेको छ । किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरूले विवरण सकंलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी दिए । अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो ।
जिल्लाको कर्मैया, ढुंगेखोला, शंखरपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिएको छ भने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए ।