इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा आइतबार दुई खेल हुनेछ । पहिलो खेल गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबिच खेलिने छ । उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ । गुजरात र हैदराबादबिचको खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । यो गुजरातको घरेलु मैदान हो ।
आईपीएलको इतिहासमा यी दुई टोलीबिच केही समान चरित्र देखिन्छ । जारी आईपीएलमा यी दुवै टोलीले तेस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोलीले यसअघि एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेका छन् । यी दुवै टोलीले हालसम्म एक–एक पटक आईपीएलको उपाधि चुमेका छन् ।
दुवै टोलीको तेस्रो खेल
गुजरात र हैदराबाद दुबैले जारी सिजनको आईपीएलमा तेस्रो खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलेको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । गुजरात दुई अंकसहित तालिकाको आठौँ स्थानमा छ ।
गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । उक्त खेल गुजरातको घरेलु मैदानमा खेलिएको थियो । आफ्नो दोस्रो खेलमा भने गुजरात बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्ससँग उसैको घरेलु मैदानमा ६३ रनले पराजित भएको थियो ।
यसैगरी हैदराबादले पनि यसअघि खेलिएको दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद दुई अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । हैदराबाद आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । दोस्रो खेलमा भने हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको थियो ।
दुबैको पोल्टामा एक–एक उपाधि
इन्डियन प्रिमियर लिगमा हैदराबाद र गुजरातले हालसम्म एक–एक पटक उपाधि जितेका छन् । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यसयता हैदराबादले उपाधि चुम्न सकेको छैन ।
यसैगरी गुजरातले भने सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो । आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई हराएर प्रतियोगिताको सुरुआत गरेकाले पनि यसपटक गुजरातको मनोबल उच्च देखिएको छ । मुम्बई सर्वाधिक पाँचपटकको उपाधि विजेता टोली हो ।
अहमादाबादमा गिलको नाममा सर्वाधिक रन
अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सर्वाधिक रन बनाउन ब्याट्सम्यानमध्ये एक गुजरातका कप्तान शुभमन गिल पनि हुन् । उनले अहमादाबादमा खेलिएको आईपीएलको १३ खेलमा कुल सात सय रन बनाइसकेका छन् ।
शुभमन गिलका अतिरिक्त गुजरातमा साई सुदर्शन, डभिड मिलर, अजमतुल्लाह ओमरजाई, विजय शंकरजस्ता प्रभावशाली ब्याट्सम्यान पनि छन् । यसका अतिरिक्त राशिद खान, नुर अहमदजस्ता क्षमतावान् स्पिनर पनि गुजरातमा छन् ।
यसैगरी गुजरातमा उमेश यादब, मोहित शर्मा, स्पेंसर जोनसनजस्ता अनुभवी तिब्रगतिका बलर पनि रहेका छन् । नरेन्द्र मोदी स्टेडियममा खेलिएको एउटै खेलमा उच्च रन बनाउने खेलाडी पनि शुभमन गिल नै हुन् । उनले यो स्टेडियममा एउटै खेलमा एक सय २९ रन बनाएका छन् ।
साई सुदर्शनले पनि यो सिजन खेलिएको दुई खेलमा कुल ८२ रन बनाइसकेका छन् । उनी यो सिजनको आईपीएलमा टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । यसका अतिरिक्त यो सिजनको आईपीएलमा टोलीका लागि सर्वाधिक विकेट लिने बलर स्पेंन्सर जोनसन हुन् । उनले तीन विकेट लिइसकेका छन् ।
दुई खेलमा १५ छक्का हिर्काउने हैदराबादका क्लासन
जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादका ब्याट्सम्यान हेनरिच क्लासन लयमा देखिएका छन् । उनले जारी सिजनको आईपीएलमा यसअघि दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले दुई खेलमा १५ वटा छक्का प्रहार गरिसकेका छन् ।
क्लासनका अतिरिक्त मयंक अग्रवाल, ट्राभिस हेड, अभिषेक शर्मा, एडन मारक्रमजस्ता प्रभावशाली ब्याट्सम्यान पनि हैदराबादको टोलीमा छन् । हैदराबादको बलिङ पनि कमजोर छैन । टोलीमा भुवनेश्वर कुमार, टी. नटराजन, जयदेव उनादकटजस्ता प्रभावशाली बलर छन् ।
जारी सिजनको आईपीएलमा हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि क्लासन हुन् । टी. नटराजन यो सिजन टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले यसअघि खेलिएको दुई खेलमा तीन विकेट लिइसकेका छन् ।
हेट टु हेडमा गुजरात अगाडि
इन्डियन प्रिमियर लिगको इतिहासमा हालसम्म गुजरात र हैदराबादबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरात र एक खेलमा हैदराबाद विजयी भएको छ । यी दुई टोलीबिच हालसम्म अहमादाबादमा एक खेलमात्र खेलिएको छ । त्यो खेलमा गुजरात ३४ रनले विजयी भएको छ । गुजरातले हालसम्म आफ्नो घरेलु मैदानमा खेलिएको आईपीएलको ११ मध्ये सात खेल जितेको छ ।
ब्याट्सम्यानलाई सहयोग गर्ने पिच
हैदराबाद र गुजरातबिच खेल हुने नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानलाई सहयोग गर्ने प्रकृतिको रहेको छ । स्टेडियमको आउटफिल्ड पनि ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ । यो स्टेडियममा हालसम्म आईपीएलको २८ खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेको छ । बाँकी १४ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएको छ ।
छैन वर्षाको सम्भावना
गुजरात र हैदराबादबिच खेल हुने दिन आइतबार अहमादाबादमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार अहमादाबादको तापक्रम २४ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।
सम्भावित टोली
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, साई सुदर्शन, अजमतुल्लाह ओमरजाई, डेभिड मिलर, शाहरुख खान, राहुल तेवातिया, राशिद खान, उमेश यादब, मोहित शर्मा र स्पेंसन जोन्सन रहेका छन् । इम्प्याक्ट खेलाडीका रुपमा विजय शंकर छन् ।
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, मयंक अग्रवाल, अभिषेक शर्मा, एडन मारक्रम, हेनरिच क्लासन, अब्दुल समाद, शाहबाज अहमद, जयदेव उनादकट, भुवनेश्वर कुमार र मयंक मारकंडे रहेका छन् । इम्प्याक्ट खेलाडीका रुपमा उमरान मलिक छन् ।