जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १४औँ संस्करण २४ चैतदेखि सिमरामा हुने भएको छ ।
सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे आइतबार आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगितामा ५ ए डिभिजन क्लब र ४ मोफसलका गरी १० टिमको सहभागिता रहनेछ । साविक विजेता चर्च ब्वाइज युनाइटेड, एपिएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेन्डस क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब सहभागी छन् । रिगल रिसोर्ट एन्फा मकवानपुर हेटौँडा, सल्हेश युवा क्लब सिरहा, वीरगन्ज युनाइटेड र आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ तथा दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नव जनजागृति युवा क्लब सिमराको महासचिव सम्भु सिंह ठकुरीले पत्रकार सम्मेलनमा बताए ।
२४ चैतदेखि सुरु हुने प्रतियोगिता ३ वैशाखसम्म सिमरा रंगशालामा हुनेछ । प्रतियोगिताको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारको खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गर्नेछन् । प्रतियोगिताको अनुमानित लागत करिब १ करोड ३ लाख ७९ हजार ८ सय रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाइएको छ ।
१४औँ जीतपुरसिमरा गोल्डकपमा विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत टिकेटमा छुट गरिनेछ । अपांगता, अशक्त र ७० वर्षभन्दा माथिको वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए । नव जनजागृति युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।