माध्यमिक शिक्षा परिक्षा(एसइई)मा चिट चोराउने रौतहटका एक विद्यालयका प्रधानाध्यापक (प्रअ) सहित छ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले एसइई परिक्षामा चिट चोराउने कार्यमा संलग्न रहेको भन्दै श्रीपुर मावि पथराका प्रधनाध्यापक उतिचन्द्र देव यादवसहित छ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले यादवलाई सामाजिक सञ्जाल ह्वाट्सअप एप्सबाट एसइई ग्रुप बनाई प्रश्नपत्र तथा सोको उत्तर समेत आदानप्रदान गरी प्रश्नको गोपनीयता भंग गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले एसइई परिक्षामा सामाजिक सञ्जाल ह्वाट्सअप एप्समार्फत परिक्षामा आएका प्रश्नपत्रहरु तथा सोको उत्तर विभिन्न सामाजिक सञ्जालमा आदानप्रदान गरेर प्रश्नपत्रको गोपनीयता भंग गर्ने र परिक्षा निरिक्षकको रुपमा खटी स्वयम चिट चोर्न लगाउने कार्यमा संलग्न हुने छ जनालाई पक्राउ गरेको जानकारी दिए ।
रौतहट प्रहरीले सरस्वती मावि पिपरा परिक्षा केन्द्रमा परिक्षा निरिक्षकको रुपमा खटिएका राजदेवी नगरपालिका, रौतहटका ललन राय यादवलाई परिक्षा निरिक्षकको रुपमा खटि चिट गराई परिक्षाको मर्यादा भंग गरेको अभियोगमा पक्राउ गरेको हो ।
प्रहरीले सोही अभियोगमा नै नि.पथरा बधुराम परिक्षा केन्द्रमा खटिएका निरिक्षकको रुपमा खटिएका मौलापुर नपा रौतहटका अमोदप्रसाद यादवलाई पनि पक्राउ गरेको छ ।
रौतहट प्रहरीले शंकर मावि सरमुज्वा परिक्षा केन्द्रमा निरिक्षकको रुपमा खटिएका अबधलाल रामलाई पनि समातेको छ । उनलाई पनि परिक्षा निरिक्षकको रुपमा खटि चिट गराई परिक्षाको मर्यादा भंग गरेको अभियोगमा पक्राउ गरिएको हो । त्यस्तै शंकर मावि परिक्षा केन्द्रमा निरिक्षकको रुपमा खटिएका सोही ठाउँका राकेशकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
रौतहट प्रहरीले अनाधिकृत रुपमा परिक्षा केन्द्रमा प्रवेश गरी चिट चोराउन गई परिक्षाको मर्यादा भंग गरेको अभियोगमा सरस्वती मावि पिपरा परिक्षा केन्द्रमा अनुमतिबिनै प्रवेश गरेका राजपुर नगरपालिका रौतहटका राम सोगारथ साह पनि पक्राउ परेका छन् । उनी परिक्षा केन्द्रमा अनुमति बिना प्रवेश गरेका थिए ।
नायक प्रहरी उपरिक्षक गिरीले पक्राउ परेका अभियुक्तहरुलाई शिक्षा ऐन,२०२८ को दफा १७ को उपदफा १ (क) अन्र्तगतको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको बताए।