नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि साइकल खरीदमा व्यापक भ्रष्टाचार भएको बताएका छन् ।
बिहीवार नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै उनले अनुदानको पैसा मधेसी जनताको लागि खर्च नगरी भ्रष्टाचार गरिएको आरोप लगाए । उनले तराई–मधेसलाई अन्नको भण्डार भनिए पनि वर्षात्को मौसममा डुबान हुने गरेको र हिउँदमा वर्षा नभएर बाली नहुने गरेको बताए । उनले नाकाबन्दीको बेलामा भारत सरकारबाट निम्तो आएको थियो तर त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओली भारत नगएको बताए । पोखरेलले नाकाबन्दी खुलेपछि भारत जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीसँग प्रश्न गर्दै भारतविरोधी नेपाल कहिलेदेखि भएको सोधेको बताए । मोदीको भारतले नेपालमा धेरै योजनामा बजेट विनियोजन गरेको, धेरै योजना भारत सरकारबाट बनेको जस्ता बखान सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यति बेला जनता पीडामा रहेकोले भारत भ्रमणको औचित्य नरहेको बताएका थिए, उनले भने ।
महासचिव पोखरेलले भारत सरकारले निर्माण गर्न जिम्मा लिएका योजनाहरू अलपत्र रहेको हामीले नजीकबाट नियालिरहेको बताए । हुलाकी सडक बनाउने जिम्मा लिएको भारतले १० वर्षसम्म काम शुरू गरेन तर भारत भ्रमणबाट आएपछि ओलीले नेपाल आफैंले निर्माण गर्ने भनी रु १३ अर्ब बजेट विनियोजन गरी निर्माण कार्यको सुरुआत भएको स्मरण गराए । उनले मौका पाएको बेला एमालेले काम गरेर देखाएको बताए ।
सरकार अहिले कर्मचारीको तलब खुवाउन नसक्ने अवस्थामा रहेको बताउँदै तलब खुवाउन आन्तरिक ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले एमालेको सरकार रहेको बखत सरकारको ढुकुटी बलियो रहेको दाबी गरे । उनले राष्ट्रको ढुकुटीबाट सुन तस्करी भएको, नक्कली कम्पनी बनाएर एक क्विन्टल सुन खरीद भएको बताए । एमालेले सुन तस्करलाई कारबाई गर्न जोडदार माग गरेपछि सुन तस्करी बन्द भएको स्मरण गराए ।
नेता पोखरेलले अहिले बैंकमा पैसा फालाफाल छ, ऋण लिने कोही छैन, बैंकले लगानी गर्न नसके बचतकर्ताको रकम जोखिममा पर्ने बताए । उनले खराब तत्वको संलग्नताले वर्तमान सरकारको दुर्दशा भएको बताए । तराई–मधेसमा एमालेको विकल्प छैन भन्दै उनले एमालेलाई घेराबन्दीमा राखिएको आरोप लगाए ।
एमाले सरकारमा रहेको बखत विदेश जाने युवाको सङ्ख्यामा कमी थियो भने अन्य दल सरकारमा भएको बेला विदेश जाने युवाको सङ्ख्या बढ्ने गरेको उनले बताए । अन्य दलले जनपक्षीय कार्य नगरेका कारण निराश भएर जनता विदेश पलायन हुने गरेको उनको आरोप थियो । उनले भने, “मुलुकको अर्थतन्त्र तहसनहस भएको छ । एमाले सरकारमा भएको बेला धेरै योजना कार्यान्वयन भए, धेरै योजना स्वीकृत भए, कयौं योजना निर्माण भए, बिजुली पनि निर्यात भएको थियो ।” उनले एमाले सरकारमा गएपछि १८ घण्टे लोडसेडिङ अन्त्य भएको बताए ।
नेता पोखरेलले एमालेसँग माधवकुमार नेपालले गद्दारी गरी निस्के पनि ७७ जिल्लामध्ये ४४ जिल्लामा एमाले पहिलो दल बनेको बताए । बाँकी जिल्लामा सबै दल मिले पनि एमालेको बराबरमा छैन उनले भने । सात प्रदेशमध्ये छ प्रदेशमा एमाले पहिलो रहेको बताए । नेपालको पानी नेपालीलाई, हुलाकी सडक निर्माण, सदरमुकामको विस्तार, सुनकोशी परियोजना अध्ययन गर्न, राजमार्गबाट सदरमुकामसम्म फोरलेनको बाटो विस्तारको योजना एमाले सरकारको पाला बनाइएको पनि उनले बताए ।
उनले मधेसमा जसपा, लोसपा र जनमतले आफूलाई मधेसको मसिहा ठान्ने गरे पनि एमाले लोकप्रिय रहेको बताए । गत निर्वाचनमा जसपा र एमालेको तालमेलले जसपालाई फाइदा भएको उनको जिकिर थियो ।