नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार अहिले बिहान ९:३० बजे सुरु हुदैछ।
बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो। आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।
तीन खेलको सिरिजमा आयरल्यान्ड ‘ए’ ले १–० को अग्रता लिएको छ। पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो।
नेपालका लागि साहब आलमले ३७, देव खनाल २६, बसिर अहमदले २०, रिजन ढकालले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। बलिङमा आयरल्यान्डका म्याथ्यु हुमप्रेजले पाँच र लियम म्याकार्थीले चार विकेट लिएका थिए।
आयरल्यान्ड ‘ए’ सँग पहिलो खेलमा लज्जास्पद हार खाएको नेपाल ‘ए’ का कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिएका थिए। यस्तै साहब आलम र मौसम ढकालले दुई दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे।
आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी–२० सिरिज २–१ ले गुमाएको नेपाल ‘ए’ले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।
विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले आयरल्यान्डसँग एक दिवसीय सिरिजको फाइनल चैत २५ गते कीर्तिपुर मैदानमा खेल्नेछ।
नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।