रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले नगरपालिकाको कर्मचारीको तलब सुविधा रोक नलगाएको दाबी गरेकी छन् ।
बिहीबार निजी निवास सन्तपुर दोस्तियामा पत्रकारसँग कुरा गर्दै कार्यवाहक मेयर खातुनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको बदमासीले गर्दा नगरपालिकाका कर्मचारीले अहिलेसम्म तलब सुविधा पाउन नसकेको आरोप लगाइन् ।
फागुन ३ गते सम्पन्न नगरसभाबाट स्वीकृति भएको वडास्तरीय बजेट सेलिङमा ६० लाख उल्लेख रहे पनि २० लाख कटौती गरिएकोले प्रमुख प्रशासकीय अधिकृत, लेखापाल तथा वडा अध्यक्षहरूले आफूलाई जानकारी नै नदिई ७० लाखदेखि ८० लाखसम्मको वडा सेलिङ तयार गरेर रेड्बुकमा हस्ताक्षर गर्न भनेको उनले बताइन् ।
कार्यवाहक मेयर खातुनले बजेट १३ करोड मात्र रहेको र छुट्याएको बजेटले रकम अपुग हुने भएकाले वडास्तरीय बजेट सेलिङ तथा खर्चको लागत सुधार नगरेसम्म सम्पूर्ण रकम खर्च गरिने अधिकार प्रदान नगरिने जिकिर गरिन् ।
२३ फागुनमा प्रमुख प्रशासकीय अधिकृतलाइ विद्युत्को बाँकी रहेको चा करोड, गत आर्थिक वर्षको भुक्तानी हुन बाँकी रहेको १ करोड ५० लाख, कर्मचारीको तलब खर्च गर्ने अख्तियारी दिइएको चलानी नम्बर १०१५ को पत्रले पुष्टि भएको उनले बताइन् ।
१० महिनादेखि तलब नपाएको भन्दै नगरपालिकाका कर्मचारीले बुधबार कार्यालयको काम काज ठप गरी साँचो सामुहिक रूपमा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।
कार्यवाहक नगरप्रमुख खातुनले प्रमुख जिल्ला अधिकारीमाथि आक्रोश व्यक्त गर्दै भनिन्, ‘नगरपालिका मेयरले चलाउने हो, सिडिओले होइन । सिडिओको काम जिल्लामा शान्ति सुरक्षा कायम गर्नु हो ।’ नगरप्रमुखमाथि कारबाही गर्ने अधिकार सिडियालाई नरहेको उनले जिकिरसमेत गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रधान, लेखापाल नविन यादव तथा वडा अध्यक्षहरूले बजेट अनियमित्ता गर्ने उद्देश्यले विनाकुनै जानकारी ५१ करोड ९४ लाख ४४ हजार ८८६ रुपैयाँ खर्च गर्ने अख्तियारीको लागि हस्ताक्षर गर्न दबाब दिएको उनको भनाइ छ ।
नेपाल सरकारले बजेटमा कटौती गरेकोले सेलिङ अनुसारको रकम अपुग हुने हुँदा कार्यपालिका बैठकबाट संशोधन नगरेसम्म सम्पूर्ण बजेट खर्च गर्ने अख्तियारी नदिने अडान उनले दोहो¥याइन् । कार्यवाहक मेयर खातुनले आफूलाई फसाउने षड्यन्त्र भइरहेकोसमेत सञ्चारकर्मीलाई जानकारी गराइन् ।