पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले निकुञ्जलाई २०७४ सालमा देशको १२औँ संरक्षित क्षेत्रका रूपमा घोषणा गरेको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।
प्राकृतिक सौन्दर्यसँगै वन्यजन्तुको जैविक विविधताले धनी निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताए ।
“विगतभन्दा अहिले निकुञ्जमा आन्तरिक तथा भारतका पर्यटक आउने क्रम बढेको छ”, उनले भने , “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”
चालु आर्थिक वर्षको आठ महिनामा छ सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ र गैरसार्क राष्ट्रका एकजना विदेशी पर्यटक छन् । अघिल्लो आवको आठ महिनामा एक सय ४० पर्यटकले मात्र निकुञ्जमा भ्रमण गरेका थिए । आव २०७९र८० मा पर्सा राष्ट्रिय निकुञ्जमा ७२ जना भारतसहित सार्क मुलुक र ३२ जना अन्य देशका पर्यटक गरी एक हजार ६५ जना पर्यटकले भ्रमण गरेका थिए ।
निकुञ्जभित्र माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दह पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेका छन् । निकुञ्जभित्र पानीको सहज उपलब्धतासँगै पाटेबाघसहितका जन्तुको सङ्ख्या पनि वृद्धि भएको छ ।
निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार पाटेबाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि वन्यजन्तुको सङ्ख्या बढेको हो । कुल छ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।
निकुञ्जको भ्रमणमा आउने पाहुनाका स्वागतमा निकुञ्जको मध्यवर्ती क्षेत्रको ‘बफर जोन’मा सुनाखरी मध्यवर्ती सामुदायिक घरबास सञ्चालन गरिएको छ ।स्थानीय संस्कृतिअनुसार सुनाखरी सामुदायिक घरबासले विविध परिकार पस्केर पाहुनालाई आकर्षित गर्दै आएको छ ।