आज सोमबारे औंसी । सोमबार स्नान गरी दान दिनका लागि शुभ मानिन्छ । आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन् ।
हिन्दु धर्मावलम्बी अनुसार आजको दिन सोमबारे औंसीको दिनको तिथि प्राप्त गर्न ठूलो संयोग वा भाग्य चाहिने उल्लेख भएको छ । महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ ।
औंसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औंसी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रूपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औंसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा छ। मातापिता नहुनेले भने औंसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्।
पौराणिक कालमा सोमबारे औंसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरि कलियुगको शुरुवातसँगै धर्तिमा सोमबारे औंसीका तिथिहरु बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंसीहरु परेको बताइन्छ ।
प्रत्येक महिनामा एउटा औंसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार, तर औंसी र सोमबारको संयोग यदाकद मात्र हुन्छ। यो दिन स्नान, दान र श्राद्ध एवं व्रत गर्नुको उच्च महत्व रहेको मानिन्छ । वर्षभरिमा एकपटक वा कहिलेकांही दुईपटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औंसी पर्दछ।यो पर्व स्नान, दानादिका निमित्त शुभ र सर्वश्रेष्ठ मानिन्छ।यस पर्वमा स्नान गर्न विभिन्न तीर्थस्थलमा टाढाटाढाबाट भक्तजन धाएर जाने गर्दछन्।
सोमबारे औंसीमा विहानै स्नान गरेर ब्रम्हदेव तथा माता गायत्रीको पूजा गरिन्छ । गाइ, सुन, छाता, वस्त्र, पलङ, ऐना इत्यादि चिजको दान गर्नु राम्रो मानिन्छ ।चन्द्रमालाई मनको स्वामी मानिन्छ र औंशीमा चन्द्रदर्शन गर्न सकिँदैन । यसलेगर्दा मनस्थिति कमजोर हुन्छ । यो दिन ब्रत गर्दा मन सम्हालिने विश्वास पनि गरिन्छ । धर्म शास्त्र अनुसार मौनी औंशीमा मौन रहेर ऋषि मुनी जस्तै ब्यवहार गर्नु पर्ने उल्लेख छ ।मौनी औंशीमा बोल्नु र कुनै निर्णय गर्नु अघि खुव विचार गर्नुपर्छ ।
हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ विधमान छ । सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो । सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ ।