सर्लाहीको चन्द्रनगर गाउँपालिकामा चालु आर्थिक वर्ष सुरु भएको नौ महिनापछि आइतबार बल्लतल्ल गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभाले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट पनि पारित गरेको छ ।
जनप्रतिनिधिबिचको विवाद र राजनीतिक हस्तक्षेपका कारण समस्याग्रस्त अवस्थाबाट गुज्रिएको गाउँपालिकाले असारमै सक्नुपर्ने गाउँ सभा अहिले चैत अन्तिममा आएर बल्ल सम्पन्न गरेको हो । गाउँ सभाले ५९ करोड ३० लाख ५९ हजार ७६९ रुपियाँ ७१ पैसा बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
उनले अनुसार सभामा गाउँ सभाका ३९ जना सदस्य नै सहभागी भएका छन् । गाउँ सभाले बजेट ल्याउन नसक्दा चन्द्रनगरमा साउनदेखि सामाजिक सुरक्षा भत्ता निकासा हुन सकेको थिएन ।
गाउँपालिकाभित्रका कर्मचारीले नौ महिनादेखि तलब नखाई काम गरिरहेका थिए । विकास निर्माणका काम ठप्प थियो । आइतबारको गाउँ सभाले बजेट पारित गरेसँगै अब यी सबै समस्याको निकास निस्किएको गाउँपालिका अध्यक्ष महतोले बताए । उनले अब तत्कालै कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० मा गाउँपालिकाको खाता सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासाको काम अगाडि बढाइने बताए ।
गाउँपालिका अध्यक्ष महतोले असारमा र त्यसपछि पनि गाउँ सभा गरेर बजेट पारित गर्ने प्रयास गरे पनि अल्पमतमा रहेकाले समस्यामा परेको बताए । अहिले भने असन्तुष्ट गाउँपालिकाका उपाध्यक्ष गीतादेवी महतोसहित बहुमत सदस्यलाई सहमतिमा ल्याएर गाउँ सभा सम्पन्न गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष महतोले सबैको सहमतिपछि बजेट पारित गरिएको बताए । आइतबार दिनभर गाउँ सभा चलिरहँदा गाउँपालिका कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
यसअघि जिल्लाको हरिपुर्वा नगरपालिकामा गत फागुन ७ गते कडा सुरक्षाबिच बहुमतका आधारमा नगर सभा गरेर बजेट पारित गरिएको थियो । चन्द्रनगरमा भने सहमति जुटाएरै गाउँ सभा गरिएको हो । महिनौँको प्रतीक्षापछि गाउँपालिकामा बजेट पारित भएसँगै स्थानीय खुसी भएका छन् ।