चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २७ गते मंगलबार आजदेखि चैत्र नवरात्र शुरु भएको छ ।
चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।
वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।
चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष नयाँ वर्ष २०८१ साल बैशाख ४ गते अष्टमी अर्थात चैते दशैं र वैशाख ५ गते बुधवार रामनवमी पर्व परेको छ ।
वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र माघ महीनाको शुक्ल पक्षमा नवरात्र पर्छ । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ ।
आषाढ र माघका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको छ । चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।
नवरात्रीको समयमा वीरगञ्जको गहवा माई, विन्दवासीनी माई, बाराको गढीमाई, हेटौडाको चुरीयामाई लगायत उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी,पर्साको गहवामाई,बिन्दवासिनी माई ,भुटनदेवी, बिर्ता माई, बाराको गढिमाई,बेलपाती माई,चिम्नी माई लगायत शक्तिपीठहरुमा पनि बिहानैदेखि भक्तजनको बिशेष भीड लागेको छ ।
नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास रहिआएको छ ।