पर्साको धोबिनी गाउँपालिका– ३ ठूलो गुलरियाका चार घरका अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले राहत सामग्री वितरण गरेको छ । गएराती भएको आगलागीमा गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी, रविन्द्र पटेल र मनिफ मियाँको घरमा पुर्ण रुपले क्षती भएको छ । आगलागी बाट घर सहित घरमा रहेको अन्नपात ,लत्ताकपडा भाँडाकुडा लगायत सबै सामान जलेर नष्ट भएपछि मंगलबार रेडक्रसले राहत वितरण गरेको हो ।
आगलागी पीडित परिवारहरुलाई अति आवश्यक राहत सामाग्री वितरण गरिएको रेडक्रस पर्साले जनाएको छ । सोमबार राति करिब १२ बजेतिर आगलागी हुँदा नगद, गरगहना, घरमा रहेको सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो ।
आगलागी बाट पीडित भएकालार्ई नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेश कमिटी सह कोषाध्यक्ष सलाउदिन अहमद, धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह, वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मी र जिन्सी प्रमुख प्रदिप पटेलको टोलीले मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरेको हो ।
आगलागी पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डसना, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको रेडक्रस सोसाइटी मधेस प्रदेश कमिटी सहकोषाध्यक्ष अहमदले जानकारी दिए ।