हिन्दू धर्ममा चैत्र नवरात्रीको विशेष महत्व छ । यस पटक चैत्र २७ गतेबाट सुरु भई वैशाख ५ गतेसम्म चल्ने छ । चैत्र नवरात्रीदेखि आगामी नौ दिनसम्म माता दुर्गाका नौ रुपको पूजा–आराधना गरिने छ ।
नवरात्रिका यी ९ दिनको हिन्दू धर्ममा विशेष महत्व छ । यससँगै माता रानीको श्रृंगार दिनहुँ फरक–फरक हुन्छ । मातालाई ९ दिनसम्म मनपर्ने भोग अर्पण गर्नाले उहाँको आशीर्वाद प्राप्त हुने बताइन्छ ।
माँ चन्द्रघण्टा
आज नवरात्रको तेश्रो दिन माँ चन्द्रघण्टाको पूजा गरिदै नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी साथै वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवीको चन्द्रघण्टाको वाहन बाघ हो । चन्द्रघण्टा नाना प्रकारको रत्न जड़ित आभूषण धारण गर्ने र सर्वदा युद्धको लागि तत्पर रहनुहुन्छ ।
देवी चन्द्रघण्टाको घन्टको ध्वनिबाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । शत्रु तथा दुष्टको दमन गर्नको निमित्त देवी सदा सर्वदा तत्पर रहेपनि वहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ । वहाँको प्रसिद्धि सौम्यता या सौम्य स्वभावको साथै वीरता निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप वहाँका साधकपनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टाको उपासक सिंह या बाघको जस्तै पराक्रमी तथा निर्भीक हुन्छन्, साथै सदगुणता, वीरता तथा विनम्रताको विकास हुन्छ तथा शरीरमा कान्ति र गुणको वृद्धि हुनेछ ।
आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत बाधाहरू हटाउनुका साथै देवी चन्द्रघण्टाको कृपाले भक्तको सबै प्रकारको पाप तथा बाधाहररू हटाई आफ्नो भक्तका दुःख, कष्टको निवारण देवीले शीघ्र नै गरिदिनुहुन्छ भन्ने जनविश्वास रहेको छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य अलौकिक छठाको कारण त्यहाँ उपस्थित सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।
नवरात्रको तेस्रोदिन अर्थात् चैत्र शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरि दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले Sound अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।
नवरात्रीको समयमा वीरगञ्जको गहवा माई, विन्दवासीनी माई, बिर्ता माई, बाराको गढीमाई, हेटौडाको चुरीयामाई लगायत शतिmपीठमा भक्तजनको भीड लागेको छ ।
नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास रहिआएको छ ।