वीरगञ्जको घडीअर्वा पोखरीमा बिहिबार नेपाल अग्रवाल महिला मंच बीरगंजद्धरा भव्यताका साथ गणगौर बिदाई कार्यक्रम मनाएका छन् ।
मारवाडी समुदायमा प्रचलित गणगौर (गौरा ) पुजा होलीको समापनसँगै चैत्र शुक्ल तृतीया का दिन बसन्त ऋतु, खेतीपाती र अखण्ड सौभाग्य तथा वैवाहिक मान्यता प्रति मनाईने जन विश्वास रहेको संस्थाकी उपाध्यक्ष नुतन सरावगीले बताइन् ।
संस्थाकि अध्यक्ष मिरा खेतानको अध्यक्ष्तामा घडिअर्वा पोखरिमा आयोजित बिदाइ कार्यक्रममा नाचगान र खानपानको व्यवस्था गरि खुसी साटासाट गरिएको थियो।
सो अवसरमा रेनु अग्रवाल, सोनी चाचान, प्रिती तुल्सियान, रितु खेतान, स्वेता पटवारी, देवकी चाचान, पुष्पा गाडिया लगायतको उपस्थिति रहेको थियो ।
गणगौर पूजा को बिशेषता
घरका पुरुषहरु रंग खेल्नमा व्यस्त रहेकै बेला होलीका दहनको खरानीमा गोबर मिसाएर शिव शिव (गण ) र र पार्वती (गौर ) को १६ पिण्ड बनाएर महिलाहरू धार्मिक अनुष्ठानको तयारीमा जुट्छन् । होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रुपी ती पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान र विवाहितले श्रीमानको दीर्घायु, स्वास्थ्य र कल्याणकासाथै सुःखी विवाहित जीवनकालागि गणगौरलाई पुज्छन् । माता गौरीलाई स्वभाग्यको प्रतिक मानेर यो पुजा गरिने सरावगीले बताइन् ।
यस पुजामा माटोले पनि शिवपार्वतीको प्रतिमा बनाउने चलन छ । यो समुदायको पनि राजपुताना घरानामा यस अवसरकै लागि बनाइएको काठको मूर्तिलाई हरेक वर्ष कुशल कलाकारद्धारा रंग गराइन्छ । यो वास्तवमा उमंग, उत्साह र मस्तीको पर्व हो । युवतीहरु रंगीचंगी पोसाकमा बगैंचा पुगेर दुवो ल्याउँछन् । गीत गाउँदै दुबोको सहयोगले दुधको छिटा हान्दै गणगौरलाई पुज्छन् । दिनमा एक छाक खाएर उपवास बस्छन् ।
कडा धार्मिक अनुशासनको यो पर्वमा पुजाकोलागि छुट्टयाइएको कोठामा सूर्यको प्रकाश पर्नुहुन्न । श्रीमानलाई समेत अन्तिम पुजाका दिन मात्र प्रवेसको अनुमति हुन्छ । होलीको अन्तिम दिन स्नेह सम्मेलनको आयोजना गरेर होलीलाई विदा गर्ने मारवाडी समुदायका पुरुषले पनि यो पर्वलाई धेरै महत्त्व दिन्छन् ।
अन्तिम तीन दिन यो पर्व चरमोत्कर्षमा हुन्छ । शंकरपार्वतीलाई नयाँ पोसाक लगाइन्छ । शिरमा विभिन्न पुजन सामग्री भएका कलश कासाथ जलासय किनार वा इनारमा प्रतिमाको विर्सजन गरेपछि पर्वको समापन हुन्छ । यो अवसरमा मैदा, घिउ र चीनीले बनाइने फूल झैं आकारको मिठाई घेवर बाँडने चलन छ । इन्द्रधनुषी पहिरनमा सजिएका महिलाहरूद्धारा लोक नृत्य र गीतको क्रम चल्छ ।
नवविवाहिताले विहेको पहिलो वर्ष अनिवार्य रूपमा यो पर्व मनाउँछन्, यो अवसरमा आमाबुवाले छोरीलाई गच्छेअनुसारको लता, कपडा र मिठाई दिन्छन् । प्रतिमाको विसर्जनको अघिल्लो दिन हातखुट्टा भरि मेहन्दी लगाएर नाचगान हुन्छ,ु उनी भन्छिन् । छोरीचेलीले चन्द्र, सूर्य, फुल र ज्यामितिय चित्र आकारको मेहन्दीले सिंगार्छन् । यो पर्वपछि यो वर्षकालागि मारवाडी महिलाको सम्पूर्ण त्यौहारको समापन हुन्छ ।
भगनवान शंकर र पार्वतीलाई आदर्श दम्पति मानिने पौराणिक कथामा यो आधारित छ । दस दिनजति घरमा पुजा गरेपछि सबैको पहुँच हुने सार्वजनिक स्थलको छनौट गरेर यो पर्व मनाइन्छ । तराईतिर यो पर्वका दिन छोरीचेली हातमा दुबो र फूलसहितको सुन्दर लोटा लिएर गीत गाउँदै बगैंचा पुग्छन् । विभिन्न परम्परागत खेल खेल्छन् । यो अवसरमा महिला सृजनशीलताको प्रदर्शनकोलागि मेहन्दी र चित्रकला जस्ता प्रतियोगिताको समेत आयोजना हुन्छ । छिमेकी भारतको राजस्थानमा पनि मुख्य रूपले र गुजरात एवं मध्यप्रदेशको केही भागमा पनि यो पर्व मनाइन्छ । कतिपय ठाउँमा शिवपार्वतीको मूर्ति र शिरमा कलश बोकेका महिलाहरूको झाँकी समेत निकालिन्छ ।