चैत्र नवरात्रकाे पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको विधिपूर्वक पूजाआजा गरिँदैछ ।
नवरात्र व्रतको पाँचौ दिन भगवती माताको स्कन्दमाता्विग्रहको पूजन–अर्चन हुन्छ। छान्दोग्य श्रुतिअनुसार भगवतीको शक्तिबाट उत्पत्र भएका सनतकुमारको नाम स्कन्द पनि हो। उनको माता हुनुको कारण यी भगवतीलाइ ‘स्कन्दमाता’ भनिएको हो।
वस्तुतः स्कन्दकी माता महादेवी पार्वती हुन तथा उनका पिता स्वयं भगवान भोलेनाथ हुन्। यो कथा श्रीमद्भभागवद् महापुराण तथा अन्य पनि कैयौं संस्कृत साहित्यका ग्रन्थहरुमा संग्रहित रहेका छन्। हामी देवसेनापति स्कन्दको चर्चा न गरेर स्कन्दमाता्भगवतीको चर्चामा छौँ। स्कन्दमाता्नवदुर्गा माताकै लहरमा पाँचौ स्थानमा रहेकी छिन्।
स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरूपको भगवान कुमार र एउटा हात आशीर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वाहन सिंह रहेको छ । कमलको फूलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।
यस स्वरूपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले सांसारिक पाप तथा कष्टबाट छुट्करा मिल्ने विश्वास छ ।
अतः नवरात्र जस्तो पावन अवसरमा हामीले पनि नीज स्कन्दमाताको भक्ति–अराधनामा पूर्ण समर्पित भएर लाग्नु पर्दछ तथा विधिपूर्वक पूजन–अर्चन र दैन्य प्रदर्शन गर्नु पर्दछ।
नवरात्रको व्रत ठूलो तपश्चर्यापूर्ण धार्मिक अनुष्ठान हो, भक्तहरु सावधान भएर यसको कठीन नियमहरुको पालना गर्नु पर्ने हुन्छ।
चैत्र नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।