आज नयाँ वर्ष २०८१ को पहिलो दिन अर्थात वैशाख १ गते शनिबार । आजदेखि हामी सम्पूर्ण नेपाली नयाँ वर्षसंगै नयाँ दशकमा समेत प्रवेश गर्दैछौं । आजदेखि विक्रम संवत २०८१ प्रारम्भ भएको छ ।
आज फेरि हाम्रा घरघरका भित्तामा क्यालेन्डर फेरियो । नयाँ वर्ष–२०८१ शुरु भयो । पुरानो सालको क्यालेन्डरका धमिला हुँदै गएका पाना हटे आँखाबाट । आँखाले केही नयाँ र तेजिलो चिज हेर्ने इच्छा गर्यो ।
नयाँ बर्षलाई त्यसै पनि हामी धेरै महत्व दिन्छौं । खुशी र उमंग यसै जोडिएर आउँछ नयाँ बर्षसंग । नयाँ बर्ष– शुभकामनाको ओइरो लाग्छ । नयाँ बर्षको शुभकामना दिन व्यक्तिगत भेटघाट नै गर्नु पर्ने कि शुभकामना कार्ड छापेर बाँड्नु पर्ने युग थियो कुनै बेला ।

प्रविधि बद्लाबले गर्दा अब त्यो युग बाँकी रहेन । आज सञ्चार माध्यम छन । मोवाइल छ । टाइरेक्ट कलदेखि म्यासेजसम्म अनेक अप्सन छन । अझ शसक्त छ– सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा शुभकामनाका ओइरो लाग्ने छ, लागेको छ ।
उच्च पदस्थले सदाझैं सार्वजनिक शुभकामना विज्ञप्ति जारी गर्दैछन ।
अरु सम्बत्को भन्दा यसकारण दूर्लभ छ हाम्रो नयाँ बर्ष कि वसन्तु ऋतुमा आउँछ । वसन्त ऋतुको आफ्नै महिमा छ । संसारभरिको बसन्त हाम्रो जस्तै हुन्छ भन्न सकिँदैन । तर, हाम्रो वसन्त ऋतुका कयौं खास विशेषता छन ।
जाडो तुरिएको हुन्छ, तर गर्मी चर्को भइसकेको हुँदैन । बोट विरुवामा नयाँ पालुवा पलाउँछन। कयौं फूलहरु फक्रिएर हाँस्छन यो ऋतुमा । ठूला चाडपर्वको घञ्चमञ्च हुँदैन । अतिरिक्त खर्चका अन्य पाटाहरु यतिखेर कमै आउँछन र नयाँ बर्षको उल्लासमा आर्थिक सहजता थपिदिन्छन ।

बिहेका लगन बाक्ला हुन्छन यही बेला । लाखौं युवायुवती जीवनको लगन–गाँठो कस्दछन । सहयात्रा र साझा सपनाको जाल बुन्न थाल्दछन ।
शुभकामना औपचारिकता मात्र हैन हाम्रा लागि । त्यो हृदयदेखिको सद्भाव हो । कटुता बिर्सन र नयाँ सम्बन्ध नयाँ आयामबाट शुरुवात गर्न सहज हुन्छ नयाँ बर्षमा । नयाँ बर्षको एक शुभकामना सन्देशसंग यति ठूलो ताकत हुन्छ कि त्यसले बर्षौ पुरानो शत्रुता बिर्साइ दिन सक्दछ । बन्द बोलचाल खुलाई दिन सक्दछ ।
जिडीपि प्रतिव्यक्ति आयमा गरिब देखिएलान नेपाली तर सभ्यता र संस्कृति, विनम्रता र सहृदयता वा ह्याप्पीनेस इन्डेक्समा गरिब छैनौं हामी ।
हामी नेपालीले बढो गज्जबको एक मानक बनाएका छौं विश्वमा– गरिबी, बेथिति, भ्रष्टाचार, कुशासन, बेरोजगारी र अल्पआयस्तरमा बाँचेर पनि हामी खुशी हुन सक्दछौं । खुशी हुन सक्ने हाम्रो स्वभाव, हाम्रो तकात बढो विचित्रको छ ।
यस्तो खुशी कति अर्थपूर्ण छ वा छैन, त्यो भिन्नै कुरा । यस्तो खुशीलाई खुशी भन्नु पर्ने हो कि हैन, त्यो भिन्नै कुरा । कम्तीमा हामी प्रतिव्यक्ति आयको तुलनामा खुशी सुचकमा निक्कै राम्रो स्थानमा छौं र यसका पक्कै दृष्य अदृष्य कारण होलान ।
संभवत् हामीलाई खुशी हुन धन र भौतिक सम्पतिले हैन, अभौतिक सम्पदा र संस्कृतिले मद्धत गरेका छन । अन्यथा हाम्रो खुशीको रहस्य फेला पार्न संसारलाई निक्कै गाह्रो पर्ने छ । स्वयं हामी आफैलाई गाह्रो पर्ने छ ।
हाम्रो खुशीको एउटा आधार त वसन्तको उल्लासमय वातावरणमा आउँने नयाँ बर्ष पनि होला । यस अवसरमा बाँडिने असीमित शुभकामना पनि होला । नयाँ बर्षमा हामी शुभकामना मात्र बाँड्दैनौं । केही सपना देख्छौं । केही समीक्षा गर्छौ । केही योजना बनाउँछौं । केही संकल्प गर्छौं ।
नयाँ वर्षले हामीलाई नयाँ इच्छा शक्ति जोगाड गर्ने अवसर दिन्छ । भित्ताको क्यालेन्डर वा बाकसमा राखिएको पात्रो फेरिनु कुनै ठूलो कुरा हैन । ठूलो कुरा हो, मान्छेको सपनामा नयाँ आयाम थपिनु । मान्छेको योजना अझ ठोस र मूर्त बन्नु । मान्छेका मनमा इच्छाशाक्ति र संकल्पको नयाँ लहर जाग्नु । मान्छेको मष्तिष्कमा हुटहुटीको आँधीबेहरी चल्नु ।
फेरिएको क्यालेन्डरसंगै उमेरको गणना गर्दछौं हामी । वितेको जीवनलाई फर्किएर हेर्छौं । सिंहावोकन गर्छौं । थाहा छ– यो धर्तीमा कसैको पनि जीवन सोचेजस्तो सहज भएन । जीवन चाहे व्यक्तिको होस वा राष्ट्रको, आकार र मात्राको भिन्नता हो, चरित्र र प्रवृतिको हैन ।
व्यक्तिकै चरित्रको समुच्चयले राष्ट्रको चरित्र बन्ने हो । राष्ट्रकै प्रवृतिको विस्तारले व्यक्तिको प्रवृति बन्ने हो । व्यक्ति भन्नु र राष्ट्र भन्नुमा खासै ठूलो भिन्नता छैन, व्यष्टि र समष्टिको बाहेक ।
राष्ट्र व्यक्तिको समष्टि हो । व्यक्ति राष्ट्रको व्यष्टि हो ।
नयाँ बर्ष दुबैको हो– व्यक्तिको पनि, राष्ट्रको पनि । व्यक्ति जस्तै राष्ट्रले पनि नयाँ वर्षको खुशीयाली मनाउँछ । विगतको समीक्षा र सिंहावलोकन गर्दछ । नयाँ सपना बुन्छ । नयाँ योजना निर्माण गर्दछ । नयाँ संकल्प र इच्छाशक्ति जोगाड गर्दछ ।
सपना देख्नमा कमजोर छैनौं हामी । कुनै बेला हामीले ‘एशियाली मापदंड’ को सपना देख्यौैं । पछिल्लो दशकमा घरघरमा ग्याँस पाइप पुगेको, काठमाण्डौंमा मानो र मेट्रो दुबै रेल गुडेको, समुन्द्रमा नेपाली राष्ट्रिय झण्डा फहर्याएर विशालकाय पानी जहाज चलेको– यस्ता सबै सपनाहरु देख्यौं, देखायौं ।
यति धेरै कि सपना देख्ने बाँकी ठाउँ नै सीमित हुने गरी सपना देख्यौं । सपना बाँड्यौं । सपना बेच्यौं।
जसरी खुशी सुचांकमा हामी कमजोर छैनौं, सायद सपना देख्ने र देखाउँने, सपना बाँड्ने, बेच्ने खेलमा पनि हामी कमजोर छैनौं । गज्जबगज्जबका सपना देख्न सक्दछौं हामी, थरिथरिका सपना देखाउँन सक्दछौं हामी ।
कुरा कहाँनेर मात्र पेचिलो हो भने के यस्ता सपनाको कुनै मूल्य हुन्छ कि हुँदैन ? मूल्यहीन सपना देख्नुको कुनै अर्थ हुन्छ ? कि हुँदैन ? सपना देख्नु आफैमा ठूलो र पर्याप्त कुरा हो कि सार्थक सपना देख्नु ? सपना त सोम शर्माका जस्ता देख्न सकिन्छ थुप्रै । देखाउँन सकिन्छ कतिकति ।
तर, के हामी साकार हुने सपना देख्ने क्षमता राख्दैनौं ? साकार हुने सपनाको हकदार छैनौं हामी ?
हामी सपना देख्नका लागि मात्र लायक छौं कि सपनाजस्तो यथार्थ, विपना बन्ने, बन्न सक्ने सपना देख्नका लागि हकदार पनि छौं ?
संभवत् नयाँ वर्षमा हामीले आफैलाई गर्न पर्ने सबैभन्दा ठूलो प्रश्न हो यो । हाम्रा सपना तुहिनका लागि मात्र हुन यथार्थ बन्नका लागि लायक? तुहेग्रा सपनाको लास बोकेर कतिञ्जेल मलामी जान्छौं हामी ? कतिञ्जेल चिहान खन्छौं पुर्छौं सपनाका शवहरु ?
दुख्खका साथ भन्नु पर्छ, वितेको बर्ष हाम्रा लागि खासै उपलब्धिपूर्ण रहेन । २०८१ मा हामीले राजनीतिमा चरम अवसरवाद र अनैतिकताको अभ्यास गर्यौ । तीन पटक फेर्यौ गठबन्धन, बिनावित्था, काम न काज । त्यसैलाई गौरव, पराक्रम वा बहादुरी ठान्ने हो भन्ने ठीकैै छ ।
नयाँ भनिने दलहरु आए तर तिनलाई पुराना बन्न कति समय लागेन । नयाँको पनि उही हालत । उस्तै अवसरवाद र अस्थीरता । उस्तै टुटफुट । उस्तै विग्रह कलह । उस्तै नैतिक संकट र सत्तालिप्सा ।

राजनीतिमा मात्र हैन, अर्थतन्त्रमा पनि कुनै गतिलो उपलब्धि हासिल गरेनौं, त्यही बिप्रेषण बढ्नु बाहेक । मान्छेहरु विदेशिनु र तिनले पठाएको विप्रेषण बढ्नु नै उपलब्धि हो भने ठीक छ । अन्यथा अरु कुनै पनि पाटो, आयाम वा सुचक सार्थक रहेनन् ।
पेशा व्यवसाय सुुस्त भए । माग संकुचन भयो । वित्तिय संकट बढ्यो । भौतिक विकासका प्रक्रिया सुस्त रहे ।
सुशासनका क्षेत्रमा पनि हामीले खासै उपलब्धि हासिल गरेनौं । ठूल्ठूला भ्रष्टाचारका काण्ड सतहमा आए, एकाध कर्वाही भएजस्ता नाटक पनि भए । त्यही नै उपलब्धि हो भने ठीक छ ।
अन्यथा भ्रष्टाचार एक ठूलो समस्या बनेको छ । देशको महारोग । कसैले उपचार गर्न सकेको छैन यसको । जो गर्छौ भन्दैछन, ती आफै संक्रमित छन ।
नयाँ वर्षका शुभकामना र सपनाभन्दा हाम्रो यथार्थ फरक छ । तर, कसैलाई विश्वास छैन कि नयाँ बर्षमा यो क्रम तोडिने छ ।
शुभकामनामा हामी यो क्रम तोड्न चाहन्छौं । हामीले बुनेको सपनामा हामी यो क्रम तोड्न चाहन्छौं । तर, के यथार्थमा यो क्रम तोडिन्छ, जो दशकौंदेखि एक दुश्चक्रभित्र अभिशप्तजस्तो बाँचेको छ यहाँ ।
जे होला, आशावादी हुनुको के बिकल्प छ ? अघि बढ्नुको के बिकल्प छ ? नयाँ बर्षमा प्रवेश त गर्नै पर्दछ । नयाँ बर्ष साँचो अर्थमा खुशी र उमंग बन्ने दिन पनि त आउँला नि कुनै दिन ?
कामनौं गरौं कि आजको दिन नै त्यस्तो दिनको शुरुवात बनोस । नयाँ वर्ष २०८१ साँच्चै सुशासन र स्वशासन र सामाजिक न्यायको बर्ष बनोस् । सबैको स्वाभिमान र सबैको संमृद्धिको बर्ष बनोस् ।
नयाँ बर्ष–२०८१ को हार्दिक तथा मंगलमय शुभकामना ।
