ॐ जयंती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।
आज चैत्र नवरात्रीकाे सातौँ दिन भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको पूजाआराधना गरेर मनाउने गरिन्छ ।
कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन्। उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ ।
घाँटीमा बिजुली सरह चम्कीने माला छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ।
कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।
पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।
शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभित गर्नेवाला छ । कपाल फिजाएको छ भने उनको चार हात छन् । विद्युतको माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ ।
चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हालमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभफल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।
कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रास समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।
देवी कालरात्री दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ। यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।
माता कालरात्रीको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्य स्थित गर्नुपर्छ । यो आराधानाको फलस्वरुप भानु चक्रको शक्ति जागृत भएर आउँछ । माता कालरात्रीको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ ।
जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्री आफ्ना भक्तलाई हर परिस्थितीमा विजय दिलाउँछिन् भन्ने विश्वास छ । सप्तमीको दिन माता कालरात्रीलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।