श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया।।
चैत्र नवरात्रीको आठौ दिन अर्थात् महाष्टमी पर्व, आज दुर्गा भगवतीको आठौँ स्वरूप महागौरी देवीको पूजा आराधना गरि मनाइँदै छ ।
महागौरी शिवकी शक्ति हुन् । यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । महागौरीलाई शाम्भवी पनि भन्ने गरिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ। महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।
आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ । मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ । आफ्ना परम्परामा ग्राह्य मानिएका पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ ।
महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ । तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन् ।
अष्टमी र नवमीमा विशेष शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो बढ्छ ।