आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदैछ।
चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।
वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री बताउँछन्। चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।
वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।
चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।
आज वीरगञ्जको गहवा माई, विन्दवासीनी माई, बाराको गढीमाई, हेटौडाको चुरीयामाई लगायत उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ ।