भारतको अयोध्यामा सोमवार राम मन्दिरको प्राण प्रतिष्ठाको कारणले नेपालको रौतहट र सर्लाही राममय बनेको छ। रौतहट र सर्लाहीका करिब सम्पूर्ण गाउँमा सामूहिक यज्ञको आयोजन गरिएको छ।
हरेक गाउँमा स्वतः स्फूर्त रुपमा विभिन्न किसिमको यज्ञको आयोजन गरिएको यो पहिलो पटक हो। केही दिनदेखि मन्दिरको सफाइ, रंगरोगन तथा मरम्मत सम्भार भइरहेको रौतहट तथा सर्लाहीमा निर्माण अधुरो रहेको मन्दिरको पुनर्निर्माण तथा प्राण प्रतिष्ठाको काम धमाधम भइरहेको छ।
रौतहटको गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ आफैँ अयोध्या पुगेर गाउँको राम जानकी मठका लागि मूर्ति किनेर ल्याएका छन्। सोमवार भव्य समारोहबिच प्राण प्रतिष्ठा गरिने वडाध्यक्ष श्रेष्ठले बताएका छन्।
रौतहटको गरुडा नगरपालिका ४ स्थित राम जानकी मठमा विशाल भन्डारा र यज्ञको आयोजन गरिएको छ। रौतहटका अधिकांश गाउँमा २४ घन्टे रामधुन अष्टयाम महायज्ञको आयोजना गरिएको छ।
रौतहटका करिब सबै पालिकाले एक वा दुई दिन पालिका क्षेत्रभर माछा, मासु, अन्डा र मदिरा सेवन, बिक्री तथा बधमा पूर्णतया रोक लगाएका छन्।
सर्लाहीको पनि अधिकांश पालिकाले माछा, मासु, अन्डा र मदिरा सेवन, बिक्री वितरण तथा पशुपन्छी बधमा एक वा दुई दिनको लागि रोक लगाएका छन्। सर्लाहीको अधिकांश गाउँमा पनि कलशयात्रा र विभिन्न यज्ञका साथै मन्दिरमा प्राण प्रतिष्ठा भइरहेको छ।
रामप्रति असीम श्रद्धा राख्ने हिन्दु समुदायले अत्यन्त हर्षोल्लास साथै श्रद्धा र भक्तिपूर्वक सोमवारको दिनलाई मान्ने तयारी गरेका छन्।
रौतहट र सर्लाहीका सङ्घ संस्थाले सोमवार साँझ दीपावली मनाउने आग्रह गरी सर्वसाधारणका नाममा विज्ञप्ति निकालेका छन्। दिनभर विभिन्न धार्मिक सङ्घ संस्थाले सोमवारको दिनलाई धर्ममय र राममय बनाउन प्रचार प्रसार गरिरहेका छन्।