नयाँदिल्ली —विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।
पहिलो चरणमा २१ राज्यको १ सय २ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रधदेशको ६, राजस्थानको १२, उत्तराखंडको सबै ५ सिटका लागि मतदान हुनेछ ।
त्यस्तै, पश्चिम बंगालको ३, असमको ४, मेघालयको २, अरुणाचलको २ ,छत्तीसगढको १ महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागालैंडको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा भोलि मतदान हुँदैछ ।
पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, अंडमान निकोबार द्विप, मेघालय, मिजोरम, नागालैंड, पड्डुचेरी र सिक्कमको सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।
दक्षिणको सबैभन्दा ठूलो राज्य तमिलनाडुमा विपक्षी गठबन्धन बलियो मानिन्छ । अघिल्लो चुनावमा त्यहाँ भाजपाले एक सिट पनि जित्न सकेको थिएन । यसपटक भाजपाले त्यहाँबाट सिट हात पार्न पूरा जोर लगाएको छ । उत्तर प्रदेशको पिलिभित, सहारनपुर, बिजनौर, नगीना, मुरादाबाद, रामपुरमा भाजपालाई विपक्षी ‘ईन्डिया’ गठबन्धनले चुनौति दिँदैछ । त्यहाँ द्विपक्षीय प्रतिस्पर्धा मानिएको छ । बिहारको औरंगाबाद, गया, जमूई र नावादमा पनि द्विपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
नेपालसँग सिमा जोडिएको उत्तराखण्डको अलमोडा र नैनिताल, त्यस्तै उत्तरप्रदेशको पिलिभित निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।
पहिलो चरणमा केन्द्र सरकारका आठ जना मन्त्री, तीनजना पूर्व मुख्यमन्त्री प्रतिस्पर्धामा छन् । केन्द्रीय सडक तथा यातायात मन्त्री नितिन गडकरी नागपुर सिटबाट चुनावी प्रतिस्पर्धामा छन् ।