राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनका लागि आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको बताएका छन् ।
चुनावी प्रचार प्रसारका लागि इलाम पुगेका लामिछानेले इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह समेत गरे ।

आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको उनले ठट्टा गर्दै भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’
उनले थपे, ‘मिलन लिम्बुले राम्रो काम गरेन भने अर्को लिम्बू आउँछ । लामिछानेले गर्न सकेन भने अर्को आउँछ । तपाईँ त शक्तिशाली जनता हो । के ऋण खानु भएको छ र मेरो के ऋण खानुभएको छ र मिलन लिम्बुको ?अरूको खाच्चखुच्च खानुभयो होला । हाम्रो त खुवाउनै सक्दैनौँ खुवाउँदैनौँ पनि, यी पानी खुवाउने पैसा छैन हाम्रो त ।’
स्वपाले यतिखेर आफ्नो ध्यान इलाम २ को उपनिर्वाचनमा केन्द्रित गरेको छ । लामिछाने उम्मेदवार लिम्बूलाई भोट माग्न दोस्रो पटक इलाम २ गएका हुन् ।
यसअघि मन्त्रीहरू सुमना श्रेष्ठ, डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ पनि इलाम २ पुगेर लिम्बूलाई भोट मागेका छन् ।
रास्वपाका अन्य नेताहरू पनि इलाममा जाने आउने गरिरहेका छन् ।