काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक छ भने ।
अध्यक्ष ओलीले भने, ‘गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेको हो ।’
दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको अध्यक्ष ओलीको भनाइ छ । निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको ओलीको भनाइ छ ।
'निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन् । यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ,'ओलीले भनेका छन् । जनतामा देखिएको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।
'उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरुसँग यसको समाधान भने छैन,' अध्यक्ष ओलीले भनेका छन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि खालको निरंकुशता हुनै नसक्ने पनि उनको भनाइ छ ।