पर्सा जिल्लाको जीवनरेखा मानिने तिलावे पुल निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै किनारबाट भत्किन शुरू भएको छ । यसबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि निर्माण कम्पनीले मरम्मत गर्न चासो देखाएको छैन ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय अन्तर्गत तिलावे खोलामा पुल निर्माण गर्न पप्पु/लुम्बिनी जेभीले रु आठ करोड ७२ लाखमा ठेक्का सम्झौता गरेको थियो । गत जेठ २४ गते पुलको निर्माण कार्य सम्पन्न भएर ठेकेदारले भुक्तानी पनि लिइसकेको छ । तर एक वर्ष नबित्दै तिलावे पुलको पूर्वी भागबाट कालोपत्र भत्किन थालेको छ । भत्किएको ठाउँलाई छोपछाप गर्न ठेकेदार कम्पनीले एक ट्याक्टर ग्राभेल मात्र खसालेको छ ।
तिलावे पुल निर्माण कार्य गुणस्तरीय नभएको स्थानीयको आरोप छ । पुलको साइडको तारजाली भत्किनु भनेको पुल निर्माण कार्य गुणस्तरहीन रहेको स्थानीयको तर्क छ ।
यसबारे पटकपटक समाचार प्रकाशित भएपनि ठेकेदार कम्पनी र हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, वीरगंजले वास्ता गरेको छैन । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका इन्जिनीयर दुर्गा मण्डलको निगरानीमा बनेको तिलावे पुल मापदण्ड पूरा नगरी हतारहतारमा सम्पन्न गरेर उद्घाटन गराइएको थियो । पुलमा पानी जम्ने, ड्रेनमार्पmत पानी नदीमा नजाने, एप्रोच सडक अधूरो रहेको स्थानीय जानकारहरू बताउँछन् ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका इन्जिनीयर सञ्जय ठाकुरले पुलको भत्केको भाग मरम्मतसम्भार गर्ने कार्य ठेकेदार कम्पनीको रहेको बताए । उनले भने– हामीले पटकपटक पत्राचार गर्दा पनि ठेकेदार कम्पनीले पुलको मरम्मतसम्भार गरेको छैन ।
पुल निर्माण सम्पन्न भएको पाँच वर्षसम्म मरम्मतसम्भार गर्ने जिम्मेवारी ठेकेदार कम्पनीको रहेको तर वर्ष दिन नबित्दै भत्केको भागको मर्मत गरेको छैन । उनले निर्माण कम्पनीलाई भुक्तानी गर्दा कार्यालयले पाँच प्रतिशत रकम रोकेर राखेको र अटेर गरी बसेमा सोही रकमबाट हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले मरम्मत गर्ने बताए ।