अधाभार (बारा) भारतको रक्सौल सहर घुम्दै धेरै पर्यटक नेपाली गन्तव्यमा पुग्ने यात्रा सुरु गर्छन् । उनीहरूले रक्सौल–वीरगन्ज नाका हँुदै नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगञ्ज भन्सार नै हो ।
नेपाली भन्सारमा भन्सार काटेर उनीहरूले अगाडिको यात्रा तय गर्छन् । नाकाबाट छुटेको भारतीय पर्यटक सवारी साधन एकैपटक सौराहामा रुक्ने गर्छ । किनभने सौराहाको आलिशान होटलमा बस्ने र त्यहाँ नजिकै देखिने वन्यजन्तुको अवलोकन गर्ने भारतीय पर्यटकहरूको पहिलो रोजाइ हुन्छ । उनीहरूले सबैभन्दा बढी गैँडा हेर्ने रहर गर्छन् । वीरगन्ज नाका नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जमाथि विश्वास नलागेर उनीहरू एकैपटक सौराहा हुइँकिन्थे ।
तर, ती सबै पर्यटकका लागि कम्तीमा एक–दुई दिन सहजै पर्सा राष्ट्रिय निकुञ्जमा बिताउन सक्ने माहौल अहिले तयार भएको छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र सहजै रूपले गैंडा, मृग, चित्तलको बथान, बँदेल, मयुर लगायतका पशुपंक्षी एकै स्थलबाट हेर्न सक्ने वातावरण निकुञ्ज कार्यालयले बनाएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिएका छन् ।
‘अहिले पर्सा र चितवन राष्ट्रिय निकुञ्ज दुबै स्थानमा एउटै टिकटबाट प्रवेश पाउने व्यवस्थामा हामी लागेका छौँ,’ उनले भने, ‘यो नियम लागू गर्न पहिलो चरणको काममा छलफल भइसकेको र थप नीति कार्यक्रम तयार गरी हाल प्रक्रियामा रहेको छ । चाँडै नै यो व्यवस्था लागू हुनेछ ।’
आमपर्यटकसम्म पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गरेको प्रतापपुर पोस्ट पनि एकदमै लाभदायक गन्तव्यको रूपमा विकसित भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवं सहायक संरक्षण अधिकृत सन्तोष भगतले जानकारी दिए ।
गन्तव्यको प्रचारप्रसारमा टेवा पु-याउन पत्रकारहरूलाई आन्तरिक पर्यटकको रूपमा गन्तव्य अवलोकन भ्रमण गराइएको उनले जानकारी दिए ।भ्रमणमा निस्केका पत्रकारहरूले प्रतापपुरमा आहाल खेल्दै गरेको एकसिंगे गैंडाको तस्बिर, भिडियो क्यामरामा सहजै कैद गर्न भ्याए । गैडा मात्र होइन । त्यही बेला बँदेलको लस्कर, मयुर र साझपख मयुर, बँदेलसहित मृग, चित्तल, हरिणको दुई सय भन्दा बढीको तीन–चार वटा झुन्ड सहितका पुशुपक्षी हेरेर खुसीले गदगद भएको अनुभव पत्रकारले सुनाए ।
पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तथा चराचुरुगीको संख्या बढेकोले उनीहरूलाई सहजै देख्ने वातावरण बनेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालले बताए ।
‘रातीमा आउने जंगली हातीको बथान पनि प्रतापपुरमै हेर्न सकिन्छ,’ उनले भने, ‘हामीले पर्यटकको रात्रीवासका लागि होम स्टेको व्यवस्थापन गरेका छौँ । बिस्तारै होटल व्यवस्थापनको तयारीसमेत सुरु गरेका छौँ ।’ निकुञ्जमा आउने पर्यटकको लागि होटल निर्माण लगायतका काम सुरु गर्न नीतिगत वाधा अडचन फुकाउन आफूले पहल गरिरहेको उनले बताए ।
यहाँ आउने पर्यटकका लागि हात्ती सफारी, पैदलमार्ग, सुरक्षित बास बस्ने स्थल समेतको व्यवस्थापन गरिएको उनले बताए । आफूले सधँै यो स्थानमा वन्यजन्तु हेर्ने गरेको अध्यक्ष अर्यालले बताए ।
बारा, पर्सा र मकवानपुर जिल्लाको वन क्षेत्र अगोटेर घोषणा भएको पर्सा निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको संख्या अचाक्ली वृद्धी भएको निकुञ्जका प्रवक्ता भगतले बताए ।
उनका अनुसार २०७९ सालमा गणना गरिएको वन्यजन्तुहरूको तथ्यांकअनुसार निकुञ्जमा १०५ संख्या रहेको गौरीगाईको संख्या बढेर अहिले १६४ पुगेको छ । त्यस्तै १८ वटा संख्या रहेको बाघको संख्या बढेर ४१ पुगेको छ । पर्सा निकुञ्जमा मात्रै ४५ देखि ६० वटा हात्तीको संख्या रहेको उनले बताए ।
रेकर्डमा ३ वडा संख्या गैंडा पनि बढेर अहिले ८–९ संख्यामा पुगेको र ती गैंडाको प्रमुख बासस्थान प्रतापपुर घाँसे मैदान बनेको उनले जानकारी दिए ।अहिले भारतीय पर्यटकका लागि नजिक र सहरूपले वन्यजन्तु हेर्ने गन्तव्य पर्सा निकुञ्ज बनेको आमपर्यटकको भनाइ छ ।