महोत्तरी। उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताएका छन् ।
उनले अभाव भएको जनशक्ति थप्न कार्यालय व्यवस्थापन सर्वे (ओएण्डएम) गरिने जानकारी समेत दिए ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरमा अनुगमन, निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रादेशिक अस्पताल जलेश्वरमा उपचार नगरी बिरामीहरूलाई जनकपुर रेफर गर्ने गरिएको सञ्चारकर्मीहरूको प्रश्नमा उनले पर्याप्त जनशक्ति नभएका कारणले रेफर हुने गरेको बताए ।
अस्पतालमा माइनर सर्जरी भइरहेको तर जनशक्ति तथा आइसियु अभावमा मेजर सर्जरी हुन नसकेको बताउदै उनले अस्पतालमा आइसियु भए पनि जनशक्ति अभावमा सुरु हुन नसकेकाले प्लानिङ्ग गरी मेजर सर्जरी र आइसियु सेवा सञ्चालन गरिने बताए ।
जनशक्ति, स्वास्थ्य उपकरण, सेवा प्रवाहको विषयमा आफूले जानकारी प्राप्त गरेको जानकारी दिदै अस्पतालमा सहज तथा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यकता अनुसारको जनशक्ति उपलब्ध नभएको स्विकारे । उनले अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको सङ्ख्यामा बढोत्तरी भएकाले सोही अनुसार जनशक्ति उपलब्ध गराउन प्रदेश सरकार र सङ्घीय सरकार तयारी गरिरहेको जानकारी दिए ।
चाँडै नै तपाईँहरूले अस्पतालहरूमा सुधार भइरहेको समाचारहरू सुन्न सक्नुहुने बत्ताउदै उनले एम्बुलेन्सको समस्या पनि समाधान हुने विश्वास दिलाए ।
त्यसैगरी अस्पतालको निरीक्षणमा आउनुभएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले जनशक्ति अभावमा प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको बत्ताउदै समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको जानकारी दिए ।
प्रादेशिक अस्पताल जलेश्वरमा तिन वर्षदेखि पाँच शय्याको आइसियु सेवा, हेमोडायलायसिस सेवा, ब्लड बैङ्क, एसएनसियु लगायतका सेवाहरू जनशक्ति अभावमा सुचारु हुन सकेको छैन ।
अस्पतालको सेवा प्रवाहबारेमा प्रादेशिक अस्पतालका प्रमुख डा.राजीव कुमार झा तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झाले अवगत गराए । सो अवसरमा मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह, पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, पूर्व कृषि मन्त्री हरिनारायण यादवलगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।