मधेश प्रदेशको पर्सा बारा रौतहट लगायत राजधानी जनकपुरधाम सहित तराईको अन्य क्षेत्रमा तातो हावाले जनजीवन प्रभावित बनेको छ । अचानक केहि दिन देखी मधेसका जिल्लाहरुमा कडा घाम लाग्ना साथ तातो हावा चल्न थालेको छ ।
विगत एक सातादेखि दिनभर टन्टलापुर घाम र अत्यधिक तातो हावा समेत चल्न थालेसँगै जनजीवन प्रभावित बनेको छ । तातो हावाले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्किएका सर्वसाधारण र मोटरसाइकल चालक बढी प्रभावित भएका छन् । लामो समयको खडेरी, चर्को घामका केहिदिनदेखि चलेको हावाहारीका कारण वायु तथा वातावरणसमेत प्रदूषित भएका छन् । पर्सासहित मधेसमा एक सातादेखि अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस कटेको छ ।
बिहानदेखि बेलुकासम्म लागेको चर्को घाम र चलेको तातो हावाका कारण अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । निरन्तरको तातो हावाका कारण आम नागरिक लगायत ज्यालादारी तथा मजदूर वर्ग विशेष प्रभावित भएका छन् । गर्मीकै कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।
तातो हावा र टन्टलापुर घामका कारण अति आवश्यक काम परेर सडक, बजारमा निस्कनुपर्नेहरु प्रभावित बनेका छन् । विशेषगरि, मजदुरीमा निस्किएका मजदुर र खेतबारीको काम गर्नुपर्ने किसानहरूलाई चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै दूषित रहेकाले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् ।
सतर्क रहन चिकित्सकको सुझाव
वीरगञ्जको नारायणी अस्पतालका फिजिसियन एवम् प्रवक्ता डा.उदयनारायण सिंहले धुलोसहित अत्यधिक तीव्र गतिमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम अत्यधिक हुने बताए । उनीहरुले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, अस्वस्थकर खानेकुरा नखान र स्वस्थ रहने उपाय अपनाउन सुझाव दिएका छन् ।
चिकित्सकहरुले गर्मी र तातो हावाका कारण मानिसमा टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्या बढ्ने बताए । यस्तो मौसममा बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको अझ बढी ख्याल गर्नुपर्ने उनीहरुको भनाइ छ । यस्तै तीव्र गतिमा तातो हावा चल्न थालेसँगै तरकारी, मकैलगायतका अन्य बालीनाली सुक्ने भन्दै किसान चिन्तित बनेका छन् ।
तातो हावाबाट बच्न सामान्यतया लत्ताकपडा, खानपान तथा हिडडुल गर्दा विशेष सावधानी अपनाउनु पर्दछ ।
मध्यान्हमा सकभर घर बाहिर नजान, जानैपरे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, खुकुलो हलुका रङको सुतिको कपडा लगाउन, फलफूलको रस तथा प्रशस्त मात्रामा पानी पिउन, जीवनजलको प्रयोग बढी गर्न, खेतबारीमा काम सकभर बिहान वा बेलुकाको समयमा गर्न, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउन, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन चिकित्सकले सुझाव दिएका छन् । यसैगरि आफ्नो छालाको रक्षा गर्नको लागि प्रत्येक दुई घण्टामा सन स्क्रिन क्रिम लगाउन र शरिर बडी तातिए चिसो पानीले पुछ्न चिकित्सकले भनेका छन् ।
तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक रहेकाले चुल्होमा खाना तथा कुँडो पकाएपछि आगो राम्रोसँग निभाउन, बालबालिकालाई आगोजन्य पदार्थ नदिन, चुरोट तथा बिँडी पिएर जथाभाबी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।